बाँके । नेपालगञ्ज–गुलरिया सडकखण्डअन्तर्गत खजुरा गाउँपालिका–३ पेडारी नालामा चार लेनको पक्की पुल निर्माण कार्य सुरु भएको छ। करिब छ दशकअघि निर्माण गरिएको पुरानो पुल साँघुरो र जीर्ण भइसकेकाले नयाँ पुल निर्माण थालिएको हो।
नेपालगञ्जस्थित हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालयका सूचना अधिकारी कृष्ण पाण्डेका अनुसार आठ करोड ९६ लाख तीन हजार ४६८ रुपैयाँ लागतमा निर्माण कम्पनीसँग सम्झौता गरिएको छ। सम्झौताअनुसार पुलको निर्माण कार्य आगामी वैशाखभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
पुलको एक भाग तयार नहुन्जेलसम्म सवारी आवागमन व्यवस्थित राख्न पुरानो पुल नभत्काइने पाण्डेले बताए।
चार लेनको यो नयाँ पुल निर्माण भएपछि बर्खायाममा बाँके र बर्दियाका सर्वसाधारणलाई आवागमनमा सहजता हुने तथा सडक विस्तार कार्यसँगै क्षेत्रीय यातायातमा सुधार हुने अपेक्षा गरिएको छ।










