रामेछापमा दैनिक ५० जना मतदाता नाम दर्ता गर्दै, निर्वाचन तयारी तीव्र

काठमाडौँ । निर्वाचन मिति नजिकिँदै जाँदा रामेछाप जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता गराउन आउनेको भीड बढ्न थालेको छ।

सरकारले आगामी फागुन २१ गते निर्वाचन गर्ने मिति घोषणा गरेसँगै मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या दिनहुँ बढ्दै गएको हो। दसैँ, तिहार र छठ जस्ता चाडपर्वहरू सकिएसँगै दर्ता कार्यमा सहभागी हुनेको भीड झन् बढेको जिल्ला निर्वाचन कार्यालय रामेछापकी सूचना अधिकारी मेनुका कुमारी धमलाले जानकारी दिनुभयो।

हाल विशेषगरी जेनेरेसन–जेड (Gen Z) उमेर समूहका युवाहरू मतदाता नामावलीमा बढी संलग्न भएको कार्यालयले जनाएको छ। लिखु तामाकोसी गाउँपालिका–७ का सुदिप आले मगरले नागरिकता पाएसँगै जिम्मेवार नेता छान्नका लागि मतदाता नामावलीमा नाम दर्ता गराएको बताउनुभयो। त्यस्तै, गोकुलगंगा गाउँपालिका–५ का प्रन्जल खड्काले “जेन्जी आन्दोलनको मर्म बुझ्ने नेता छान्नका लागि” नाम दर्ता गराएको बताउनुभयो।

निर्वाचन आयोगले असोज ९ गतेदेखि कार्तिक मसान्तसम्म देशभरका जिल्ला निर्वाचन कार्यालयहरूमा मतदाता नामावली दर्ता अभियान सञ्चालन गर्न निर्देशन दिएको छ। बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म खुला रहने यस अभियानमा जुनसुकै जिल्लाका नागरिकले देशभरका तोकिएका केन्द्रहरूमा नाम दर्ता गराउन सक्ने व्यवस्था मिलाइएको छ।

रामेछाप जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायण लामिछानेका अनुसार दैनिक ४० देखि ५० जनासम्म मतदाता नामावलीमा नाम दर्ता गर्न आउने गरेका छन्। हाल जिल्लामा १ लाख ८१ हजार ६ सय १४ जना मतदाता रहेको उनले जानकारी दिनुभयो।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ