पीएसबी नेपालको प्रथम वार्षिकोत्सव आज, राष्ट्रपतिबाट ‘एनटिभी वर्ल्ड’को शुभारम्भ

काठमाडौँ । सार्वजनिक सेवा प्रसारण (पीएसबी) नेपालले स्थापनाको एक वर्ष पूरा गरेको छ। नेपाल टेलिभिजन र रेडियो नेपाललाई समायोजन गरी रुपान्तरित पीएसबी नेपालले आज आफ्नो पहिलो वार्षिकोत्सव मनाउँदैछ।

वार्षिकोत्सवका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘एनटिभी वर्ल्ड’ च्यानलको औपचारिक शुभारम्भ गरिने कार्यक्रम रहेको पीएसबी नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले जानकारी दिए। नेपाल सरकारको आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत नेपाल टेलिभिजनको अंग्रेजी च्यानलको रूपमै ‘एनटिभी वर्ल्ड’ सञ्चालनको योजना अघि बढाइएको थियो। नयाँ च्यानलले अन्तर्राष्ट्रिय समुदायमा नेपालबारे जानकारी दिने सामग्रीलाई प्राथमिकता दिनेछ।

विश्वमा १९२० दशकदेखि सार्वजनिक सेवा प्रसारण (पीएसबी)को अभ्यास सुरू भए पनि नेपालमा यसको अवधारणा प्रजातन्त्र पुनःस्थापनापछि सुदृढ हुँदै आएको हो। विज्ञ तथा कार्यदलका सुझावका आधारमा संघीय संसद्ले सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानून संशोधन तथा एकीकरण गर्न बनेको विधेयक, २०८१ पारित गरेको थियो। उक्त विधेयक २०८१ असोज २२ गते राष्ट्रपति पौडेलबाट प्रमाणीकरण भएको थियो।

कानून प्रमाणीकरण भएको ३१औँ दिन अर्थात् २०८१ कात्तिक २३ गतेदेखि लागू भएको सो ऐनअनुसार रेडियो नेपाल र नेपाल टेलिभिजन सार्वजनिक सेवा प्रसारण संस्थामा रूपान्तरण भएका हुन्। त्यसैअन्तर्गत सिफारिस समितिको सिफारिसका आधारमा २०८१ पुस १ गते डा. महेन्द्र विष्ट पीएसबी नेपालका पहिलो कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ