बारपाक–लाप्राक सडक बुधबारसम्मका लागि बन्द रहने

गोरखा। गोरखाको बारपाक–लाप्राक सडकखण्ड स्तरोन्नतिका लागि आजदेखि सवारी आवागमन बन्द गरिएको छ ।

बारपाक सुलिकोट गाउँपालिकाको–१ बारपाक र धार्चे गाउँपालिका–४ लाप्राक जोड्ने सडक स्तरोन्नतिका लागि मंगलबार र बुधबार दुई दिन यातायात सञ्चालनमा रोक लगाइएको हो ।

निर्माणाधीन सडकखण्डमा यातायात बन्द गरेर सडक निर्माण गर्न लागिएको धार्चे गाउँपालिका–४ का वडाध्यक्ष किसान गुरुङले जानकारी दिए ।

उनले भने, “दुई दिनसम्म पूर्ण रूपमा सवारीसाधनको आवागमन बन्द गरेर निर्माण कम्पनीले ‘व्याक कटिङ’ तथा अन्य संरचना निर्माण गर्न लागेको छ ।”

शर्मा÷विक्की जेभी निर्माण कम्पनीमार्फत सो सडक निर्माणको काम भइरहेको छ ।

तोकिएको अवधिमा बारपाक–लाप्राक सडक हुँदै सञ्चालन हुँदै आएका सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको अध्यक्ष गुरुङले बताए ।

गोरखाको पर्यटकीय गन्तव्यका रूपमा रहेको बारपाक र लाप्राक सडकखण्ड समयमा निर्माण सम्पन्न नहुँदा यात्रीहरूले सास्ती खेप्दै आउनुपरेको छ । सडक स्तरोन्नतिमा ढिलाइ भएकाले हरेक वर्ष बर्खाका बेला उक्त सडकखण्ड महिनौँसम्म अवरुद्ध हुने गरेको छ ।

विसं २०७७ जेठमा ठेक्का सम्झौता गरी २०७९ जेठसम्ममा निर्माण सम्पन्न भइसक्नुपर्ने भए पनि सडक स्तरोन्नतिको काम अझैसम्म सम्पन्न हुनसकेको छैन ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ