काठमाडौं । नेकपा (एमाले)ले आज देशैभरि जनसभा गर्दैछ। प्रतिगामी षडयन्त्रका विरुद्ध सञ्चालन भइरहेको जनपरिचालन अभियानअन्तर्गत अधिकांश जिल्ला सदरमुकाम तथा ठूला सहरहरूमा जनसभा आयोजना गर्न लागिएको हो।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार जनसभामा व्यापक जनसहभागिता सुनिश्चित गर्न केन्द्रीय सदस्यहरू विभिन्न जिल्लामा खटिएका छन्। उनले भने, “पार्टीले सबै जिल्ला इञ्चार्जहरूलाई आफ्ना जिम्मेवारी क्षेत्रमा परिचालन गरेको छ। आजको सभाले एमाले अझै पनि देशभर लोकप्रिय शक्ति हो भन्ने कुरालाई स्पष्ट पार्नेछ।”
गौतमका अनुसार जनपरिचालन कार्यक्रम चार चरणमा सञ्चालन भइरहेको छ। पहिलो चरण अन्तर्गत कात्तिक २२ गते देशभर वडा भेला सम्पन्न भएको थियो। सोहीअनुसार २५ गते अधिकांश स्थानीय तहमा जनप्रदर्शन तथा र्याली भएका थिए। तेस्रो चरणमा आज देशभरका जिल्लाहरूमा जनसभा हुँदैछन्। अभियानको समापन मंसिर ६ गते काठमाडौंमा विशाल जनसभा गरेर गरिनेछ।
आजका विभिन्न सभाहरूमा एमालेका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ। महासचिव शंकर पोखरेल नेपालगञ्जमा, उपमहासचिव प्रदीप ज्ञवाली गुल्मीमा, तथा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ लमजुङमा हुने आमसभालाई सम्बोधन गर्ने छन्।
त्यसैगरी, रुपन्देहीमा सचिव छविलाल विश्वकर्मा तथा झापाको बिर्तामोडमा सचिव पद्मा अर्यालले सम्बोधन गर्ने कार्यक्रम छ।
कोशी प्रदेशका मुख्यमन्त्री तथा स्थायी समिति सदस्य हिकमत कार्की धनकुटामा हुने जनसभामा सम्बोधन गर्नेछन्।










