काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले भौतिक पूर्वाधारको विकाससँगै मानव विकासका क्षेत्रमा पनि उल्लेखनीय कार्य गरिरहेको छ। गाउँपालिकाले शिक्षा, स्वास्थ्य, सीप विकास, स्थानीय नागरिकको क्षमता वृद्धि र उपभोक्ता समितिलाई तालिम प्रदान गर्ने जस्ता कार्यहरू मार्फत मानव विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ।
विशेष गरी २०७९ को स्थानीय तहको निर्वाचनपछि, बेथानचोक गाउँपालिकाले भौतिक पूर्वाधारसँगै मानव विकासका विभिन्न पहलहरू सुरु गरेको हो। गाउँपालिकाले शिक्षा क्षेत्रमा दुई करोड रुपैयाँ बजेट छुट्याएको छ भने स्वास्थ्यका लागि डेढदेखि दुई करोड रुपैयाँ बजेट विनियोजन गरेर विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।
पछिल्लो समय, स्थानीय तहका गतिविधिहरूमा नागरिक सहभागिता घट्दै गएको भएता पनि, बेथानचोक गाउँपालिकाले नागरिकको सहभागिता बढाउने प्रयासमा सफलता प्राप्त गरेको छ। गाउँपालिकाले उपभोक्ता समितिमा बिचौलियाको प्रभावलाई कम गर्दै, समिति कार्यहरूलाई प्रत्यक्ष रूपमा स्थानीय स्तरमा सञ्चालन गरिरहेको छ।
गाउँपालिकाले उपभोक्ता समिति गठन गर्दा सार्वजनिक सूचना जारी गरेर नागरिकलाई बैठकमा उपस्थित हुन आग्रह गर्दै आएको छ। साथै, स्थानीय नागरिकको सशक्तिकरणका लागि बजार प्रवद्र्धन, सीप हस्तान्तरण, नयाँ उद्यमी सिर्जना र पुराना उद्यमीलाई प्रविधि हस्तान्तरणका कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ।
बेथानचोक गाउँपालिकाले लघु उद्यम विस्तार शाखा मार्फत संघ र प्रदेशको बजेट सहयोगमा सीप विकासका कार्यहरू अघि बढाइरहेको छ। यसैगरी, गाउँपालिकाले उद्यमी सिर्जना कोष स्थापना गरेर, स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै कोशेली घर स्थापना गरेको छ। उक्त कोशेली घरमा अर्गानिक चनाको सातु, पिठो, खुवा जस्ता उत्पादनहरू बिक्री वितरण भइरहेको छ।










