लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन र पारदर्शी समाज निर्माणका लागि सबैको संयुक्त प्रयास आवश्यक रहेको बताएका छन्।
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा जारी सन्देशमा मुख्यमन्त्री आचार्यले भने, सुशासन सुदृढ पार्दै भ्रष्टाचारमुक्त समाज निर्माण गर्न सबैको साझा प्रयास अपरिहार्य छ। उनले थपे, “भ्रष्टाचार केवल आर्थिक दुराचार मात्र होइन। यसले सामाजिक मूल्य–मान्यता, लोकतान्त्रिक प्रणाली, राजनीतिक स्थिरता र विकासको गति सबैमा गम्भीर असर पार्छ। समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य छ। यसै दृष्टिले सरकारले कानुनी, नीतिगत र संस्थागत संरचना सुदृढ गर्न विविध पहल गरिरहेको छ।”
मुख्यमन्त्री आचार्यले प्रदेश सरकार भ्रष्टाचार विरुद्धको साझा लडाइँमा पूर्णतः प्रतिबद्ध रहेको बताए। उनले नेपाल सन् २०११ देखि भ्रष्ट्राचारविरुद्ध संयुक्त राष्ट्रसंघीय महासन्धिको पक्ष राष्ट्र भएको र त्यसयता सरकारले राष्ट्रिय रणनीति र कार्ययोजना बनाएर अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार काम अघि बढाइरहेको जानकारी दिए।
भ्रष्टाचारका चुनौतीलाई सम्बोधन गर्न प्रदेश सरकारले कानुनी, नीतिगत र संस्थागत संरचना सुदृढीकरणमा विविध पहल अघि बढाएको उनले बताए। सुशासन प्रवर्द्धन र भ्रष्टाचार न्यूनीकरणलाई प्राथमिकतामा राख्दै पाँचवर्षे रणनीतिक योजना कार्यान्वयन भइरहेको छ।
पूर्वविशिष्ट पदाधिकारीका सेवा–सुविधा कटौती, मुख्यमन्त्री तथा मन्त्रीहरूको आचारसंहिताको कार्यान्वयन, चालु खर्च घटाउने पहल र विकास योजना प्रतिस्पर्धात्मक प्रक्रियाबाट कार्यान्वयन गर्ने व्यवस्था पारदर्शिता र जवाफदेहिता बढाउन प्रभावकारी रहेको उनले स्पष्ट पारे।










