काठमाडौं विश्वविद्यालयको ३१औं दीक्षान्त समारोहमा २,२०९ विद्यार्थी दीक्षित, १९६ विदेशी विद्यार्थी सहभागी

काभ्र । काठमाडौं विश्वविद्यालय (केयु)को ३१औं दीक्षान्त समारोह आज काभ्रेपलाञ्चोकको धुलिखेलस्थित विश्वविद्यालय परिसरमा आयोजना हुँदैछ। पहिलो चरणमा २,२०९ विद्यार्थीलाई डिग्री प्रदान गरिने छ, जसमा १७ देशका १९६ विदेशी विद्यार्थी समेत सामेल हुनेछन्।

समारोहमा विश्वविद्यालयका विभिन्न स्कूलका विद्यार्थीहरू दीक्षित हुनेछन्। स्कुल अफ आर्ट्सबाट ८३, स्कुल अफ एजुकेशनबाट २९४, स्कुल अफ इञ्जिनियरिङबाट ३४०, स्कुल अफ ल काबाट ३६, स्कुल अफ म्यानेजमेन्टबाट ३७८, स्कुल अफ मेडिकल साइन्सेजबाट ८८१ र स्कुल अफ साइन्सबाट १९७ विद्यार्थी दीक्षित हुने छन्। यसपटकको दीक्षान्त समारोहमा विद्यावारिधी, डिएम र एमसिएच तहका सात, स्नातकोत्तर तहका ३९७, पिजिडी तहका ५० र स्नातक तहका १,७२८ विद्यार्थीलाई डिग्री प्रदान गरिनेछ।

प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा कार्यक्रम आयोजना हुनेछ। प्रमुख अतिथिका रूपमा नयाँदिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयका उपकुलपति प्राध्यापक धुलिपुडी पण्डित उपस्थित हुनेछन्। समारोहमा शिक्षा, विज्ञान र प्रविधिमन्त्री महावीर पुन र अन्य प्रमुख व्यक्तिहरू पनि सहभागी हुनेछन्।

विदेशी विद्यार्थीहरूको संख्या १९६ रहेको छ, जसमा अष्ट्रेलिया, अस्ट्रिया, बङ्गलादेश, भुटान, बेलायत, भारत, जापान, मलेसिया, माल्दिभ्स, मेक्सिको, नामिबिया, रसिया, स्पेन, श्रीलङ्का, स्वीडेन, संयुक्त राज्य अमेरिका र भियतनामका विद्यार्थीहरू रहेका छन्।

समारोहमा विभिन्न पदकहरू पनि प्रदान गरिनेछ। ३१औं दीक्षान्त समारोहको पहिलो चरणसम्म काठमाडौं विश्वविद्यालयबाट कूल ५०,४०० विद्यार्थी दीक्षित भएका छन्, जसमा ५,८६० विदेशी विद्यार्थीहरू छन्, जुन करिब १२ प्रतिशत हो। भारतबाट सबैभन्दा धेरै विद्यार्थी दीक्षित भएका छन्, ४,९७६ भारतका विद्यार्थी यस अवधिमा डिग्री प्राप्त गरेका छन्।

यस अवधिमा श्रीलङ्काबाट ३९९, अमेरिकाबाट ८५, माल्दिभ्सबाट ७५, जर्मनीबाट ३३, बङ्गलादेशबाट २५, बेलायतबाट २१, क्यानाडाबाट २१, भुटानबाट २०, चीनबाट १९, जाम्बियाबाट १८, दक्षिण अफ्रिकाबाट १४, पाकिस्तानबाट १३, अष्ट्रेलियाबाट १० र रूसबाट १० जना विद्यार्थी दीक्षित भएका छन्। अहिले सम्म ५८ देशका विद्यार्थी काठमाडौं विश्वविद्यालयबाट डिग्री प्राप्त गरिसकेका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ