काठमाडौँ । नेकपा (एमाले)को ११औं महाधिवेशनमा पोलिटव्युरो सदस्य र एमाले सुनसरी जिल्ला नेता जगदिश प्रसाद कुसियैतले केन्द्रीय सचिव पदका लागि उम्मेदवारी दर्ता गरेका छन्।
नेता कुसियैतले आफ्नो योग्यता, क्षमता र लगनशीलताका आधारमा सचिव पदका लागि दावी गरेका छन्। उनले भनें, “२०५६ सालमा संघीय सांसद, २०७४ सालमा कोशी प्रदेश सांसद र स्वास्थ्य मन्त्रीको रूपमा देश, जनता र पार्टीको लागि अतुलनीय योगदान गरेको छु। यस कारण, अझ बढी जिम्मेवारी निभाउँदै पार्टीको साख बढाउन र अध्यक्ष केपी ओलीद्वारा प्रस्तुत समृद्ध नेपाल, सुखी नेपाली अभियानलाई सफल बनाउन म केन्द्रीय सचिवको उम्मेदवार बनेको हुँ।”
कुसियैतको उम्मेदवारीमा अध्यक्ष केपी शर्मा ओलीले ग्रीन सिग्नल दिएको र महाधिवेशनका प्रतिनिधिहरुबाट विश्वास र समर्थन प्राप्त भएको बताइएको छ। उहाँले सांसद, मन्त्री र जिल्ला इन्चार्जको रूपमा पार्टीको संगठन विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै संकटको समयमा पार्टीलाई सशक्त बनाएको बताएका छन्।
सुनसरीका कार्यकर्ताहरुका अनुसार, कुसियैतको स्पष्ट विचार, सिद्धान्त र दृष्टिकोण पार्टीको लागि अत्यन्त मूल्यवान रहेको छ र उनीसँगै पार्टीका कार्यकर्ताले भविष्यमा योग्य नेतृत्वको आशा राखेका छन्।










