काठमाडौँ । जुम्लामा यस वर्ष करिब १८,२४५ मेट्रिकटन स्याउ उत्पादन हुँदा ४१ करोड २९ लाख ८९ हजार रुपैयाँ आम्दानी भएको छ। जिल्लास्थित कृषि विकास कार्यालयका अनुसार आठवटै स्थानीय तहका २४,८३८ परिवारमध्ये १९,१५० परिवार स्याउखेतीमा संलग्न छन्।
जिल्लामा कूल खेतीयोग्य जमिन ३९,४३५ हेक्टर रहेको कार्यालयले जनाएको छ। त्यसमध्ये स्याउखेतीको क्षेत्रफल हाल चार हजार ४४५ हेक्टरमा फैलिएको छ, जसमा चालु आवमा दुई हजार १२५ हेक्टरमै स्याउ फलिफूल भएको छ।
साल २०८१/८२ मा स्थानीय जात र उच्च घनत्व (फुजी) स्याउको उत्पादन २०,५१२ मेट्रिकटन थियो भने चालु आवमा असिना र बेमौसमी वर्षाका कारण १० प्रतिशतले घटेर १८,२४५ मेट्रिकटन भएको प्रमुख रामभक्त अधिकारीले जानकारी दिए।
हाल एक हजार ७६५ मेट्रिकटन स्याउ भण्डारगृहमा राखिएको छ। यस वर्ष जिल्लामा सात हजार ३५० किसान र ६०३ व्यापारी बिक्रीमा संलग्न छन्। नासो र कोसेलीमार्फत दुई हजार ६४८ मेट्रिकटन स्याउ जिल्ला बाहिर निर्यात गरिएको छ।
जिल्लामा उच्च घनत्व स्याउ उत्पादन ५२ हेक्टरमध्ये ४० हेक्टरमा भइरहेको छ। यस वर्ष ५८६ मेट्रिकटन उच्च घनत्व जातको स्याउ उत्पादन भएकोमा ४२७ मेट्रिकटन निर्यात गरिएको छ।
उत्पादित जातहरूमा ‘रेड डेलिसियस’, ‘रोयल डेलिसियस’, ‘गोल्डेन डेलिसियस’, ‘रिचारेड’ र ‘जनाधन’ रहेका छन्। उन्नत जातमा फुजी गाला (इटालियन जात)को स्याउखेती भइरहेको छ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले नयाँ सिफारिस गरेका ‘स्टारकिमसन’, ‘डेलिसियस’, ‘बाइट एन अर्ली’ र ‘स्टार्क स्पर गोल्डेन’ जातको खेतीबारे अध्ययन भइरहेको छ। गत वर्षको तुलनामा उत्पादन घटे पनि मूल्य राम्रो पाउँदा किसानको आम्दानी यस वर्ष उच्च रहने अनुमान गरिएको छ।










