पाल्पा । सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिमपूर्ण क्षेत्र मानिने सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको काम छिटो सक्न ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले निर्देशन दिएका छन्।
आइतबार निर्माणस्थलको स्थलगत अनुगमन गर्दै उनले कामलाई तीव्रता दिन निर्देशन दिए। मन्त्री घिसिङले आयोजना र निर्माण व्यवसायीबीच बाँकी रहेका प्राविधिक तथा प्रशासनिक विषयहरू तुरुन्तै सुल्झाउन आग्रह गरे। उनले निर्माण व्यवसायीहरूले वन कटान र भुक्तानीमा भएको ढिलाइका कारण १९ महिना म्याद थपको माग गरेको सन्दर्भमा भने, “निर्णय प्रक्रिया ढिलो गरेर आयोजना प्रभावित पार्न नहुने”मा जोड दिए।
पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित यो आयोजनाको मुख्य १,१२६ मिटर लामो सुरुङ खन्ने कार्य सकिएको छ। सुरुङमार्गको भौतिक प्रगति उत्साहजनक भए पनि वित्तीय प्रगति भने ५६ प्रतिशत मात्र भएको छ।
७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ लागतमा चिनियाँ कम्पनीले निर्माण गरिरहेको यो सुरुङमार्ग चैत २०८३ भित्र सम्पन्न गर्नुपर्ने सम्झौता छ। मुख्य सुरुङमार्गबाट सवारी चल्न थालिसकेपछि पहिरो रोक्न ७ सय ८० मिटर लामो ‘रक सेड’ निर्माणको काम सुरु गरिनेछ।










