काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा बोर्डले स्रोतको सुनिश्चितता तथा अर्थ मन्त्रालयको सहमति बिना खर्च गर्दा राज्यलाई ठूलो आर्थिक भार परेको बताएकी छन्।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८औँ वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै मन्त्री गौतमले चालु आर्थिक वर्षका लागि स्वास्थ्य बीमामा विनियोजित १० अर्ब रुपैयाँ बजेट खर्च भइसकेको जानकारी गराइन्। उनले स्रोत सुनिश्चित नगरी कार्यक्रम सञ्चालन गर्दा हाल वार्षिक करिब २४ अर्ब रुपैयाँ बराबरको दायित्व सिर्जना भएको भन्दै असन्तोष व्यक्त गरिन्।
सरकारले रुखबाट पैसा ल्याउने नभई नागरिकले कडा मेहनत गरेर तिरेको करबाटै स्वास्थ्य सेवाको भुक्तानी हुने उल्लेख गर्दै मन्त्री गौतमले बजेटको सीमाभित्र रहेर खर्च गर्नुपर्नेमा जोड दिइन्। स्रोतको सुनिश्चितता बिना मनपरी सेवा विस्तार गर्दा स्वास्थ्य बीमा प्रणालीमै समस्या उत्पन्न भएको उनको भनाइ छ।










