काठमाडौँ । काठमाडौँको हनुमानढोका वसन्तपुरमा चीर ठडाइएसँगै यस वर्षको होली पर्व सुरु भएको छ।
आज बिहान ७ बजेर १३ मिनेटको शुभ साइतमा करिब ३२ फिट अग्लो तीन खण्डे बाँसको चीर ठडाइएको हो, जसको टुप्पो रङ्गीचङ्गी कपडाले सजाइएको थियो र मयलको रुखको हाँगा बाँधिएको थियो।
चीर ठड्याएपछि सहभागीहरूले परिक्रमा गर्दै एक–आपसमा अबीर छ्यापेर हर्ष र उल्लासका साथ होली खेल्न थाले। यस अवसरमा गुरुजुको पल्टनले पनि हर्षबढाइँ प्रस्तुत गरेको थियो।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले तोकेको शुभ साइतमा चीर ठडाएसँगै फागुन शुक्ल अष्टमीदेखि काठमाडौँ उपत्यका र देशभर होलीको रौनक सुरु हुने गर्दछ। तीन तले चीरलाई फागुन शुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सम्पन्न भएको मानिन्छ।
यस वर्षको होली काठमाडौँसहित पहाडी जिल्लाहरूमा फागुन १८ गते र तराई–मधेशका जिल्लाहरूमा फागुन १९ गते परेको छ।










