काठमाडौँ । सुनसरीको इटहरी उपमहानगरपालिका–१३ स्थित कोशी लोकमार्गमा गएराति कारले ठक्कर दिँदा सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ४७ वर्षीय पैदलयात्री गिरिजानन्द साहको मृत्यु भएको छ।
विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–००१–००१ च ७५०५ नम्बरको कारले बाटो काट्दै गरेका साहलाई ठक्कर दिएको प्रहरी जानकारी छ। ठक्करपछि कार अनियन्त्रित भई सोही दिशातर्फ गइरहेको प्रदेश १–०२–००३ ह ४८९८ नम्बरको टेम्पोलाई पनि ठक्कर लागेको थियो।
घटनामा इटहरी–२० का ४४ वर्षीय टेम्पो चालक वसन्त घिसिङ, टेम्पोमा सवार ५९ वर्षीय प्रेमकुमार गुरुङ र इटहरी–१२ का २२ वर्षीय कार चालक विकी विश्वकर्मा सामान्य घाइते भएका छन्। प्रहरीले घटनाको थप अनुसन्धान गर्दैछ।










