काठमाडौँ । फोहोर संकलनकर्मी तथा कवाडी संकलनकर्ताको सम्मानमा क्रिएसन नेपालले ‘हाम्रो साइकल यात्रा’ र्याली भव्य रूपमा सम्पन्न गरेको छ ।
क्रिएसन नेपालकी अध्यक्ष अरुणा कार्कीले झण्डा फहराउँदै र्यालीको उद्घाटन गर्दै यो कार्यक्रम केवल साइकल यात्रा मात्र नभई वातावरण संरक्षण र पृथ्वीको सुरक्षाका लागि निस्वार्थ योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गर्ने अवसर भएको बताइन्।
युरोपियन युनियनको सहयोगमा सञ्चालित ग्रीनसिफ्ट परियोजना अन्तर्गत ‘ग्लोबल रिसाइक्लिङ डे २०२६’ को अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा ४०० भन्दा बढीको सहभागिता रहेको क्रिएसन नेपालकी महासचिव रोशना सुवेदीले जानकारी दिइन्। कार्यक्रमको उद्देश्य फोहोर व्यवस्थापन, पुनःप्रयोग (रिसाइक्लिङ) र चक्रिय अर्थतन्त्रको प्रवर्द्धन गर्नु रहेको उनले बताइन्।
‘फोहोर होइन, अवसर सोचौँ’ भन्ने नारासहित सम्पन्न कार्यक्रममा फोहोरलाई समस्या मात्र नभई अवसरका रूपमा लिनुपर्ने सन्देश प्रवाह गरिएको कार्यक्रम निर्देशक सुजाता कोइरालाले बताइन्। कार्यक्रममा रिसाइक्लिङ व्यवसाय, हरित रोजगारी र दिगो विकासमा जोड दिइएको थियो।
साइकल र्याली ललितपुरको शंखमूलबाट सुरु भई बागमती करिडोर, बल्खु पुल, धोबीघाट, एकान्तकुना, जावलाखेल, पुल्चोक र कुपण्डोल हुँदै पुनः शंखमूलमै पुगेर समापन भएको थियो। कार्यक्रममा काठमाडौं उपत्यकाका करिब २०० जना फोहोर संकलनकर्ताको सक्रिय सहभागिता रहेको थियो।
र्यालीमार्फत फोहोर व्यवस्थापनमा संलग्न श्रमिकहरूको योगदानको सम्मान गर्नुका साथै फोहोर वर्गीकरण, पुनःप्रयोग र जिम्मेवार उपभोगबारे जनचेतना अभिवृद्धि गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमका क्रममा रिसाइक्लिङ उद्यमी, फोहोर संकलनकर्ता तथा साझेदार संस्थाहरूलाई सम्मानपत्र वितरण गरिएको थियो भने विभिन्न रिसाइक्लिङ सामग्रीहरूको प्रदर्शनी पनि आयोजना गरिएको थियो।
यस अभियानले नेपालको संविधानले सुनिश्चित गरेको स्वच्छ र स्वस्थ वातावरणको अधिकार तथा ठोस फोहोर व्यवस्थापन ऐन २०११ र राष्ट्रिय वातावरण नीति २०१९सँग समन्वय गर्दै फोहोरको मात्रा घटाउने, हरितगृह ग्यास उत्सर्जन कम गर्ने र दिगो उपभोग तथा उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ।
उक्त कार्यक्रममा कन्सोर्टियम साझेदारका रूपमा रेस्टलेस डेभलपमेन्ट र यूथ इनोभेसन ल्याबको समेत सहभागिता रहेको थियो।










