सूर्यविनायक–धुलिखेल सडक विस्तार ६७% सम्पन्न, म्याद थपेर काम जारी

काभ्रे । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म सडकलाई छ लेनमा विस्तार गर्ने काम जारी छ। तीन वर्षअघि सुरु गरिएको १६ किलोमिटर लामो यस आयोजनामा हालसम्म ६७ प्रतिशत भौतिक प्रगति भएको आयोजना कार्यालयले जनाएको छ।

तोकिएको समयमा काम सम्पन्न हुन नसकेपछि गत मङ्सिर अन्तिम साता एक वर्ष म्याद थप गरिएको छ। हाल दुई लेन रहेको सडकलाई छ लेनमा विस्तार गरिँदै छ, जसअन्तर्गत दायाँबायाँ दुई सर्भिस लेन र २.५ मिटर चौडाइको फुटपाथ निर्माण भइरहेको छ।

सडक विस्तारका लागि सूर्यविनायक–साँगा र साँगा–धुलिखेल गरी दुई खण्डमा ठेक्का दिइएको छ। साँगा–धुलिखेल (८ किमी) खण्डको ठेक्का लामा कन्स्ट्रक्सन प्रालिले ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा लिएको थियो। उक्त खण्डमा सम्झौता अवधि सकिँदासम्म करिब ६० प्रतिशत मात्र काम सम्पन्न भएको छ भने समग्र प्रगति ६५ प्रतिशत र पिचबाहेक ९० प्रतिशत काम पूरा भएको बताइएको छ।

सूर्यविनायक–साँगा खण्डमा करिब ५५ प्रतिशत काम सम्पन्न भएको छ। ‘सेन्टर लाइन’ विवादका कारण लामो समय रोकिएको पलुबजार क्षेत्रमा गत मङ्सिरदेखि पुनः काम सुरु गरिएको हो। हाल जनागाल, बाँसघारी–बुडोल, साँगा–भैँसेपाटी र बनेपा बजार क्षेत्रमा काम तीव्र बनाइएको छ।

यस खण्डमा टेवा पर्खाल, नाली तथा कल्भर्ट निर्माण भइरहेको छ। साँगा क्षेत्रमा ठूला घुम्ती र भिरका कारण काममा केही कठिनाइ देखिएको आयोजनाले जनाएको छ। तीन पुलमध्ये महादेव खोलामा निर्माण कार्य भइरहेको छ भने अन्य दुई पुलको डिजाइनसम्बन्धी समस्या समाधान भइसकेकाले छिट्टै निर्माण सुरु हुने तयारी गरिएको छ।

चीनसँग जोडिएको तातोपानी नाका सञ्चालनमा आएपछि यस राजमार्गमा सवारी चाप उल्लेख्य रूपमा बढेको छ। हाल कोटेश्वरबाट मात्र दैनिक २,५०० भन्दा बढी सवारी साधन यस मार्गमा सञ्चालन भइरहेका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ