काठमाडौं । दाङको राप्ती गाउँपालिकामा कुटपिटको घटनापछि एक किशोर मृत अवस्थामा फेला परेका छन् भने अर्का एक घाइते भएका छन्।
प्रहरीका अनुसार राप्ती गाउँपालिका–२ बह्राखुट्टीका १७ वर्षीय स्मिथ प्रधानको शव फेला परेको हो। गएराति करिब ८ बजे राप्ती गाउँपालिका–१ पाँखापानीका १६ वर्षीय आयुशमान थापा मगर र स्मिथ प्रधान साथीको घर जाने भन्दै सँगै निस्किएका थिए।
उनीहरू राप्ती गाउँपालिका–४ मौरीघाट क्षेत्रमा पुगेपछि दुई महिला र दुई पुरुष गरी चार जना अपरिचित व्यक्तिले एक्कासि कुटपिट गरेको प्रहरीले जनाएको छ।
कुटपिटबाट आयुशमान थापा मगरको ढाड, बायाँ आँखा, गाला र कानमा चोट लागेको थियो। घटना पछि उनी राति करिब ३ बजे मौरीघाटस्थित आफ्नी दिदीको साथी गंगा रोकाको घर पुगेका थिए। त्यसपछि उनलाई उपचारका लागि राप्ती आधारभूत अस्पताल, सिसहनिया लगिएको थियो।
हाल आयुशमानको अवस्था मध्यम रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।










