काठमाडौँ । पश्चिम एसियाका विभिन्न मुलुकमा इजरायल, अमेरिका र इरानबीचको युद्धबारे अफवाह फैलाउने श्रव्यदृश्य सामग्री, तस्बिर र सामाजिक सञ्जाल पोस्ट गर्ने क्रममा ११ नेपाली पक्राउ परेका छन्। यो जानकारी आज परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलनमार्फत दिएको हो।
पक्राउ पर्नेमा साउदी अरेबियामा चार, युनाइटेड अरब इमिरेट्स (यूएई) र कतारमा तीन–तीन, ओमानमा एक जना रहेका छन्। युद्धमा क्षेप्यास्त्र र ड्रोनमार्फत भइरहेको आक्रमणको तस्बिर वा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्दा कानूनी सजाय भोग्नुपर्ने व्यवस्था छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार हालसम्म ११ नेपालीलाई यस्ता सामग्री पोस्ट गरेको आरोपमा पक्राउ गरिएको हो।
प्रवक्ता क्षेत्रीले भने, “पक्राउ परेका नेपालीको अवस्था र छुटाउन सकिने विषयमा सम्बन्धित देशका दूतावास र नियोगहरूसँग जानकारी दिइरहेको छ। उनीहरूले कुन कानुन उल्लङ्घन गरेका हुन् र कति जरिवाना लाग्छ भन्नेबारे पनि जानकारी लिइरहेका छौँ।”
मध्य–पश्चिम मुलुकमा युद्धको प्रभावका कारण रोजगार गुमाउने जोखिम न्यून रहेको बताए। होटल, रेस्टुरेन्ट र पर्यटन क्षेत्रमा केही चिन्ता भए पनि ठूलो क्षेत्रमा जागिर गुम्ने खतरा नभएको नियोगहरूले जानकारी दिएका छन्। युद्धबाट असुरक्षित भई घर फर्किन चाहने नेपालीको उद्धार जारी छ।
मन्त्रालयको कल सेन्टरमा हालसम्म ८६ हजार ४२० जनाले नाम दर्ता गराइसकेका छन्। प्रवक्ता क्षेत्रीले भने, “असुरक्षित छु भन्नेहरूको संख्या विस्तारै घट्दै गएको छ, र धेरैले सुरक्षित भएर पुनः काम गर्ने निर्णय गरेका छन्। ट्रान्जिटमा रहेका नेपालीको उद्धार लगभग पूरा भइसकेको छ।”










