बनेपामा नाइटिङ्गेल एकेडेमीको दीक्षान्त तथा बिदाइ कार्यक्रम सम्पन्न

काभ्रे । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० स्थित नाइटिङ्गेल एकेडेमीले शैक्षिक सत्र २०८१ का एसईई उत्तीर्ण विद्यार्थीहरूको बिदाइ तथा एसकेजी उत्तीर्ण विद्यार्थीहरूको ११औँ दीक्षान्त समारोह सम्पन्न गरेको छ।
शनिबार आयोजित कार्यक्रममार्फत एसईई उत्तीर्ण ४३ जना विद्यार्थीलाई सम्मानसहित बिदाइ गरिएको थियो भने एसकेजी उत्तीर्ण ६४ जना बालबालिकालाई दीक्षित गरिएको विद्यालयले जनाएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्नकुश रंजितकारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली सेनाका प्रमुख झलक सुवेदी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा प्रिन्सिपल उमा बस्नेत, को–अर्डिनेटर विक्रम प्रजापति तथा प्रि–प्राइमरी को–अर्डिनेटर पुण्यश्वरी मानन्धरले विद्यालयको शैक्षिक उपलब्धि, प्रविधिमैत्री शिक्षण प्रणाली, आधुनिक पूर्वाधार तथा विद्यार्थीहरूको समग्र विकासबारे जानकारी गराउनुभएको थियो।

अध्यक्ष रंजितकारले अभिभावक, समुदाय र विद्यालयबीचको सहकार्यबाट मात्र गुणस्तरीय शिक्षा सम्भव हुने बताउँदै नाइटिङ्गेललाई जिल्लाकै उत्कृष्ट शैक्षिक संस्था बनाउने लक्ष्यका साथ अघि बढिरहेको उल्लेख गर्नुभयो।
विद्यालयमा खेलकुद, कला, अनुशासन र नेतृत्व विकासलाई प्राथमिकतामा राखिएको तथा आवश्यक पूर्वाधारसहित उत्कृष्ट शैक्षिक वातावरण उपलब्ध गराइएको दाबी गरिएको छ।

कार्यक्रममा विद्यालयकी प्रथम महिला सिन्जा रञ्जित, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपाने, विभिन्न संघसंस्थाका प्रतिनिधि, अभिभावक तथा शिक्षकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ