देशभरका घिमिरे एकै मञ्चमा, घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठानको १६औँ स्थापना दिवस सम्पन्न

काठमाडौं । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान मा घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठान को १६औँ स्थापना दिवस, भित्तेपात्रो–२०८३ लोकार्पण, सम्मान तथा नववर्ष–२०८३ को शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

अध्यक्ष चेतनाथ घिमिरेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रियसभा सदस्य बासुदेव घिमिरे “जंगली” विशेष अतिथिका रूपमा सहभागी रहेका थिए। साथै शिवप्रसाद घिमिरे, शम्भुप्रसाद घिमिरे, डा. सुवास घिमिरे, सुशील घिमिरे (पूर्व सचिव) र शुसिला घिमिरेलगायत सल्लाहकार तथा विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

देशका विभिन्न जिल्लाबाट आएका घिमिरे बन्धुहरूको उल्लेख्य सहभागिताले कार्यक्रमलाई पुर्ण स्वरूप दिएको थियो। इलाम, धादिङ, गोरखा, काभ्रे, ललितपुर, सङ्खुवासभा लगायत काठमाडौं, रामेछाप, भक्तपुर, पर्वत, झापा, पाँचथर, सर्लाही, दाङ, लमजुङ, कपिलवस्तु, धनकुटा, सुनसरी, म्याग्दी, नुवाकोट, गुल्मी, ओखलढुंगा, अर्घाखाँची, सिन्धुली लगायतका जिल्लाबाट प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम पानसमा दीप प्रज्वलन गरी , राष्ट्रियगानसहित पितृहरूको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो। महासचिवले संस्थाको वार्षिक गतिविधि प्रस्तुत गरेका थिए।

उपाध्यक्ष ईश्वरीप्रसाद घिमिरेले संस्थाका जग्गा तथा अन्य विषयमा स्पष्ट पारेका थिए भने कोषाध्यक्ष श्रीधर घिमिरेले आर्थिक विवरण प्रस्तुत गरेका थिए। विभिन्न जिल्लाका अध्यक्षहरूले संस्था सुदृढीकरणका लागि सुझाव तथा शुभकामना व्यक्त गरेका थिए।

रसुवा जिल्ला समन्वय समितिका अध्यक्ष अशोक घिमिरे, डा. सुवास घिमिरे, बासुदेव घिमिरे “जंगली” तथा शुसिला घिमिरेले पनि आफ्ना धारणा राखेका थिए। कार्यक्रमको सञ्चालन सचिव केशव प्रसाद घिमिरेले गरेका थिए।

कार्यक्रमकै अवसरमा भित्तेपात्रो–२०८३ को लोकार्पण, आजीवन सदस्य तथा जेष्ठ बन्धु सम्मान गरिएको थियो।

प्रतिष्ठानद्वारा प्रकाशित कृतिहरू—स्मारिका, “इतिहासले बिर्सिएका व्यक्तित्व– कुसमाखर घिमिरे”, “लमजुङे बाघ” र “अमर कथाहरू” लगायत पुस्तकहरूको प्रदर्शनी तथा बिक्री वितरण गरिएको थियो। अर्घाखाँचीका घिमिरे बुहारीहरूद्वारा उत्पादन गरिएका अर्गानिक खाद्य सामग्री (सातु, अचार, तितौरा आदि) पनि प्रदर्शनमा राखिएको थियो।

कार्यक्रममा सहभागी सबैलाई क्यालेन्डर वितरण गर्दै अन्त्यमा अध्यक्ष चेतनाथ घिमिरेले एकतामा जोड दिँदै कार्यक्रम समापन गरेका थिए।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ