काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको असन क्षेत्रको मौलिकता संरक्षण गर्ने उद्देश्यले आजदेखि ‘भेहिकल फ्रि असन’ कार्यक्रम सुरु गरेको छ।
कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलका अनुसार यो कार्यक्रम कःमिलाछी (कमलाक्षी) चोकदेखि असन, भोटाहिटी चोकदेखि असन र महाबौद्ध क्षेत्रसम्म लागू हुनेछ। अबदेखि हरेक शनिबार उक्त क्षेत्रमा सवारीसाधन प्रवेश पूर्ण रूपमा निषेध गरिनेछ।
महानगरले मूर्त तथा अमूर्त सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै काठमाडौँको सांस्कृतिक पहिचान जोगाउने लक्ष्य लिएको छ। पछिल्ला वर्षहरूमा बढ्दो सवारी चाप र भीडभाडका कारण पुरानो सहरका सांस्कृतिक अभ्यासहरू प्रभावित हुँदै गएकाले यो कार्यक्रम आवश्यक भएको कामपाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो।
शनिबारको दिन असन क्षेत्रमा सांस्कृतिक कार्यक्रम, रैथाने सीप तथा ज्ञानको प्रदर्शनी, गायन, वादन र नृत्यलगायत गतिविधि सञ्चालन गरिनेछ। साथै परम्परागत व्यापार, धार्मिक र सामाजिक क्रियाकलापलाई पनि प्रवर्द्धन गरिनेछ।
यस कार्यक्रम अन्तर्गत जमल, भोटाहिटी, वीर अस्पताल, इन्द्रचोक, मच्छिन्द्र वहाल, महाबौद्ध लगायत विभिन्न स्थानबाट असनतर्फ सवारी प्रवेश निषेध गरिएको छ।
महानगरले आगन्तुकहरूलाई धरहरा भूमिगत पार्किङ, जमल वहाल, दरबार हाइस्कुल लगायत तोकिएका स्थानमा सवारी राखी पैदलमार्फत असन प्रवेश गर्न आग्रह गरेको छ।










