काठमाडौँ । गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि सातामा चार पटक हवाई उडान सञ्चालन हुने भएको छ।
नेपाल वायुसेवा निगमले काठमाडौँ–गुल्मी रुटमा आइतबार, मङ्गलबार, बिहीबार र शनिबार उडान तालिका सार्वजनिक गरेको हो। यसअघि तीन दिन मात्र उडान हुँदै आएको थियो।
निगमका ट्विनअटर जहाजको मर्मतसम्भार सम्पन्न भएपछि उडान संख्या बढाइएको रेसुङ्गा स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनुभयो। उडान थपिएसँगै भाडादरमा पनि वृद्धि गरिएको छ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण नयाँ भाडादरअनुसार काठमाडौँबाट रेसुङ्गाका लागि रु १० हजार ९०२ र रेसुङ्गाबाट काठमाडौँका लागि रु १० हजार ७०२ कायम गरिएको छ। यसअघि यो भाडा क्रमशः रु ७ हजार ५०० र रु ७ हजार ३०० थियो। करिब रु ३ हजार ४०२ सम्म भाडा बढेको स्टेशन प्रमुख थापाले बताउनुभयो।
हाल निगमले १८ सिट क्षमताको ट्विनअटर जहाजमार्फत सेवा दिइरहेको छ। मौसम प्रतिकूल नभएसम्म पछिल्लो पाँच महिनादेखि नियमित उडान सञ्चालन हुँदै आएको छ।
उडान समयअनुसार आइतबार काठमाडौँबाट बिहान ८ः०५ बजे र रेसुङ्गाबाट ९ः०५ बजे उडान हुन्छ। मङ्गलबार, बिहीबार र शनिबार भने काठमाडौँबाट बिहान ६ः१५ बजे र रेसुङ्गाबाट ७ः१५ बजे उडान हुने तालिका छ। दिउँसो हावाको चाप बढी हुने भएकाले प्राविधिक रूपमा बिहानको समयमा मात्र उडान गरिँदै आएको बताइएको छ।
हवाई सेवा सुरु भएपछि गुल्मीमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दो छ। पहिले १६–१८ घण्टा लाग्ने स्थलमार्गको यात्रा अब ४५–५० मिनेटमै पूरा गर्न सकिने भएपछि यात्रुहरूलाई ठूलो सहजता भएको छ। रेसुङ्गा विमानस्थलबाट नेपाल वायुसेवा निगमले २०८० वैशाख २९ गतेदेखि व्यावसायिक उडान सुरु गरेको हो।










