१२ वर्षपछि सिरियाबाट अमेरिकी सेना फिर्ता, कुर्द फोर्सले सरकारसँग सम्झौता

काठमाडौँ । सिरिया मा १२ वर्षदेखि रहेको अमेरिकी सैन्य उपस्थिति अन्त्य भएको छ।

हसाकास्थित कसराक एयरबेस बाट अमेरिकी सैनिकको अन्तिम टोली पनि फिर्ता भएको हो। करिब दुई हजार अमेरिकी सैनिक जोर्डन तर्फ प्रस्थान गरेको यूएस सेन्ट्रल कमान्ड ले जनाएको छ।

अमेरिकी सेनाको फिर्तीपछि कुर्द विद्रोही समूह सिरियन डेमोक्रेटिक फोर्सेस मा ठूलो प्रभाव परेको छ। सुरक्षा छाता हटेपछि सो समूहले सिरियाली सरकार सँग सम्झौता गर्दै आफ्ना लडाकुहरूलाई राष्ट्रिय सेनामा समावेश गर्ने सहमति गरेको छ।

यसैबीच हसाका र कामिश्लीजस्ता सहरमा सरकारी सैनिक तैनाथ गरिएको छ भने अल–उमर र कोनिकोजस्ता प्रमुख तेल तथा ग्यास क्षेत्र सरकारको नियन्त्रणमा आएको छ, जसले देशको अर्थतन्त्रमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

टर्की ले सिरियन डेमोक्रेटिक फोर्सेसलाई आतंकवादी संगठन मान्दै आएको छ। यही कारण अमेरिकी सेना फिर्तापछि सम्भावित आक्रमणको जोखिम देखिएपछि उक्त समूहले सिरियाली सरकारसँग सहकार्य गरेको बताइएको छ।

सन् २०२४ डिसेम्बरमा बशर अल–असदको सत्ता पतनपछि सिरियामा नयाँ राजनीतिक चरण सुरु भएको थियो। त्यसपछि २०२५ मेमा साउदी अरेबियामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र सिरियाली राष्ट्रपति अहमद अल–शारा बीच ऐतिहासिक भेटवार्ता भएको थियो। सोपछि अमेरिकाले सिरियामाथिका धेरै प्रतिबन्ध हटाउने निर्णय गरेको थियो।

लामो समयको तनावपछि अमेरिका र सिरियाबीच सम्बन्ध सुधारतर्फ अघि बढे पनि देशभित्र सुरक्षा चुनौती अझै कायम रहेको बताइएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ