काठमाडौँ । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको ६ लेन सडक विस्तार कार्य जारी रहेको छ। करिब १६ किलोमिटर लामो उक्त आयोजना करिब तीन वर्षअघि सुरु गरिएको हो, जसको हालसम्म ७० प्रतिशत भौतिक प्रगति भएको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ।
यद्यपि पछिल्लो डेढ महिनादेखि निर्माण कार्य सुस्त बनेको छ। बढ्दो मूल्यवृद्धि, निर्माण सामग्रीको अभाव र बजारमा देखिएको असहज परिस्थितिका कारण कामको गति प्रभावित भएको निर्माण व्यवसायीहरूले बताएका छन्।
१५.८ किलोमिटर लामो सडक विस्तार लक्ष्यअनुसार अघि बढिरहेको भए पनि तोकिएको समयसीमाभित्र सम्पन्न गर्न कठिन देखिएको छ। साँगा–धुलिखेल खण्डमा करिब ७० प्रतिशत काम सम्पन्न भइसकेको छ भने सूर्यविनायक–साँगा खण्डमा ४८ प्रतिशत प्रगति भएको जनाइएको छ।
लामा कन्स्ट्रक्सनका अनुसार बिटुमिनलगायत आवश्यक सामग्रीको आपूर्ति समस्या र मूल्य अस्वाभाविक रूपमा बढेकाले कामको गति घटेको हो। कम्पनीले ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा र मूल्य समायोजनको मागसमेत गरेको छ।
आयोजनाका प्रमुख विजयकुमार महतोले हालको अवस्थामा समयमै काम सम्पन्न गर्न चुनौती रहेको स्वीकार गर्दै बिटुमिन आपूर्तिमा समेत समस्या देखिएको बताए।
स्थानीय प्रशासनले वर्षायाम सुरु भएसँगै निर्माण क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै पूर्वतयारीमा ध्यान दिन आग्रह गरेको छ। साथै, सडकमा धुलो, हिलो र चिप्लोपनका कारण यात्रु प्रभावित भइरहेकाले तत्काल व्यवस्थापन गर्न निर्देशन दिइएको छ।
हाल विभिन्न स्थानमा कालोपत्र, पर्खाल निर्माण, कटिङ र कल्भर्ट निर्माण कार्य जारी छ। आयोजना सम्पन्न भएपछि सूर्यविनायकदेखि धुलिखेलसम्मको यातायात सहज हुने र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।










