काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आह्वान भएको २४ घण्टा नबित्दै संसद् अधिवेशन अन्त्य गरिनुले गम्भीर प्रश्न उठाएको बताएका छन्।
सामाजिक सञ्जालमा लेख्दै उनले बलियो बहुमत प्राप्त सरकारले नीति निर्माणका विषयमा संसद्लाई विश्वासमा लिएर पारदर्शी रूपमा अघि बढ्नुपर्नेमा अध्यादेशको बाटो रोज्न खोजिएको हो कि भन्ने आशंका उब्जिएको उल्लेख गरेका छन्।
अनुकूल राजनीतिक परिस्थिति र सहज संसदीय अंकगणित हुँदाहुँदै पनि सरकारको राजनीतिक आत्मविश्वास कमजोर देखिएको उनको टिप्पणी छ। लोकतन्त्रमा विधि र प्रक्रियाको पारदर्शितालाई उच्च महत्त्व दिनुपर्ने भन्दै पौडेलले प्रक्रिया छलेर परिणाम खोज्नु पद्धति र मर्यादा दुवैको अवमूल्यन हुने दाबी गरेका छन्।










