काभ्रे । गत शनिबार साँझदेखि अवरुद्ध रहेको बिपी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन। रोशी खोलामा आएको बाढीका कारण बनेका डाइभर्सन पटक–पटक बग्दा यातायात प्रभावित भएको हो।
१२ गते शनिबारको बाढीले राजमार्गका विभिन्न स्थानमा डाइभर्सन क्षति पुर्याएको थियो। आइतबार अधिकांश स्थानमा अस्थायी डाइभर्सन निर्माण गरिए पनि सोही साँझ आएको वर्षाले पुनः ती संरचना बगाएको प्रहरीले जनाएको छ। चिउरीबास, नार्के र चार सय बेँसी क्षेत्रमा बनेका डाइभर्सनसमेत बगाएको हो।
इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार रोशी खोलाले बगाएका १३ स्थानमध्ये ८ स्थानमा डाइभर्सन निर्माण गरिएको थियो, तर आइतबारको वर्षाले पुनः क्षति पुर्याएको छ। अहिले सोमबार बिहानदेखि पुनः मर्मत तथा डाइभर्सन निर्माणको काम सुरु गरिएको उनले जानकारी दिए।
यसअघि चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेशी, बुलढुंगा, माम्ती तथा सिन्धुलीतर्फ आँपघारी र नेपालथोक क्षेत्रमा डाइभर्सन बगाएको थियो।
सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीले मौसममा सुधार आएपछि क्षतिग्रस्त डाइभर्सन मर्मत गरी यातायात पुनः सञ्चालन गर्ने तयारी भइरहेको जनाएको छ।










