काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा रहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले “विकास, अनुशासन र गतिशीलता” भन्ने मूल आदर्शलाई आत्मसात गर्दै “छैठौं ज्ञानकुञ्ज रोड रेस–२०८३” आयोजना गर्ने भएको छ । प्रतिष्ठानले पत्रकार भेटघाट कार्यक्रमम गरेर प्रतियोगिताबारे जानकारी गराएको हो ।
प्रतिष्ठानका सभापति प्रताप वैद्यले एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरू लागूऔषध दुव्र्यसनजस्ता नकारात्मक गतिविधिमा नफसी सिर्जनात्मक तथा खेलकुद गतिविधिमा केन्द्रित होऊन् भन्ने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिइएको बताए । उनले हरेक वर्ष रोड रेस आयोजना हुँदै आएको उल्लेख गर्दै गत वर्षको प्रतियोगितामा २५० जना विद्यार्थीको सहभागिता रहेको जानकारी दिए ।
प्रतियोगितामा काभ्रे जिल्लाबाट एसईई दिएका विद्यार्थीहरूले मात्र सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ । रेसलाई व्यवस्थित, सुरक्षित र सफल बनाउन २०० भन्दा बढी स्वयंसेवक परिचालन गरिने जानकारी समेत दिइएको छ ।
प्रतिष्ठानले विगत २४ वर्षदेखि “नैतिक, व्यवहारिक तथा व्यवसायिक शिक्षाका लागि ज्ञानकुञ्ज” भन्ने मूल मन्त्रअनुसार किन्डरगार्टेनदेखि स्नातकोत्तर तहसम्म गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको जनाएको छ । संस्थाबाट अध्ययन पूरा गरेका विद्यार्थीहरू स्वास्थ्य, इञ्जिनियरिङ, बैंकिङ, उद्योग–व्यवसाय, सुरक्षा निकाय, निजामती सेवा, शिक्षा, सञ्चार तथा खेलकुदलगायत विभिन्न क्षेत्रमा सक्रिय रहेको प्रतिष्ठानका अध्यक्ष बैद्दैले बताए ।
प्रतियोगिता २०८३ साल वैशाख २६ गते शनिबार बिहान ५ः३० बजे सुरु हुनेछ । छात्रातर्फ ३.६ किलोमिटर दूरीको दौड तिनदोबाटो–चारदोबाटो–चण्डेश्वरी हुँदै विद्यालयसम्म हुनेछ भने छात्रतर्फ ७ किलोमिटर दूरीको दौड पनौतीदेखि विद्यालयसम्म सञ्चालन गरिनेछ ।
प्रतियोगितामा प्रथम हुनेले ३० हजार रुपैयाँ, द्वितीय हुनेले २० हजार रुपैयाँ तथा तृतीय हुनेले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सहभागिताका लागि विद्यार्थीले १०० रुपैयाँ शुल्क तिर्नुपर्ने आयोजकले जनाएको छ । सहभागी को लागि १ लाख को स्वास्थ बिमा रहेको पनि जनएको छ।
प्रतियोगितामा सहभागी हुन २०८२ सालको एसईई परीक्षा प्रवेशपत्रको सक्कल वा प्रधानाध्यापकद्वारा प्रमाणित प्रतिलिपि तथा हालसालै खिचिएको पासपोर्ट साइजको रंगीन फोटो आवश्यक पर्नेछ । नाम दर्ताको अन्तिम मिति २०८३ साल वैशाख २४ गते सम्म रहेको छ ।










