काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज वित्तीय प्रणालीबाट ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ।
बजारमा अधिक तरलता कायम रहेपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत बोलकबोल प्रक्रियाबाट रकम खिच्न लागेको हो। हाल बैंकिङ प्रणालीमा कुल निक्षेप ७८ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ।
राष्ट्र बैंकले ब्याजदर व्यवस्थापन र तरलता नियन्त्रणका लागि निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधा प्रयोग गर्दै आएको छ। आजको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागिता जनाउन पाउनेछन्।
बोलकबोलमा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने क्रमअनुसार रकम बाँडफाँट गरिनेछ। निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज २०८३ असार ३ गते भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ।
बोलकबोल अनलाइन प्रणालीमार्फत हुनेछ। न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।










