काठमाडौं । ट्रायल पास गरेका तथा नवीकरणका लागि राजस्व बुझाएर पर्खाइमा रहेका पुराना २९ लाख सवारी चालक अनुमतिपत्रमध्ये १२ लाख स्मार्ट लाइसेन्स छापिसकिएको छ।
यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्र बीच १२ कात्तिकमा भएको सम्झौताअनुसार पहिलो चरणमा १२ लाख लाइसेन्स छापिएको हो।
दोस्रो चरणमा ४ वैशाखमा भएको सम्झौताअनुसार थप १७ लाख लाइसेन्स छाप्ने काम सुरु भइसकेको छ। यसमध्ये ५ हजार १ सय १ लाइसेन्स छापिइसकेका छन् भने ५४ हजार ८ सय ६१ लाइसेन्स छपाइको प्रक्रियामा छन्।
केन्द्रका अनुसार हालसम्म ३७ हजार ८ सय ८६ आपत्कालीन र ट्रायल पास गरी दैनिक राजस्व बुझाएका ३६ हजार १ सय ४० लाइसेन्स पनि छापिइसकेका छन्।
नयाँ लाइसेन्सका लागि देशभरका ४२ वटा यातायात व्यवस्था कार्यालयबाट दैनिक औसत ४ हजारको हाराहारीमा डेटा आउने गरेको जनाइएको छ।










