काभ्रे । बेमौसमी वर्षाका कारण बारम्बार अवरुद्ध हुँदै आएको बिपी राजमार्गमा सुरक्षा निकायले अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ। जिल्ला सुरक्षा समितिले मङ्गलबारदेखि रातिको समयमा राजमार्गमा अनिश्चितकालीन आवागमन बन्द गर्ने निर्णय गरेको हो।
समितिको निर्णयअनुसार साँझ ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी सञ्चालन रोकिएको छ। रोशी खोलामा आएको बाढीले पानीको सतह बढाउँदा अस्थायी डाइभर्सन बगाउने जोखिम बढेपछि यस्तो निर्णय गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी रविन विष्टले जानकारी दिए।
वर्षापछिको बाढीका कारण सोमबार रोशी गाउँपालिका–७ स्थित लास्कोट र घुमाउनेबीच फसेका पाँच माइक्रोबसका ८९ यात्रुहरूलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले राति १ बजे सकुशल उद्धार गरेको थियो।
राजमार्ग अवरुद्ध भएपछि सवारी साधनहरूलाई धुलिखेल, काभ्रेभन्ज्याङ, मङ्गलटार र सिन्धुलीको नेपालथोक क्षेत्रमा रोकिएको छ। प्रहरीले दिनको समयमा पनि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न र अर्को सूचना नआएसम्म उक्त खण्ड प्रयोग नगर्न अनुरोध गरेको छ।
गत वर्षको बाढीपहिरोले चौकीडाँडा, रोशी र नेपालथोक क्षेत्रमा करिब १८ किलोमिटर सडक बगाएपछि खोलामै अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन हुँदै आएको थियो। हाल सो क्षेत्रमा स्थायी सडक निर्माण कार्य जारी रहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।










