चार प्रकारका फोहोर वर्गीकरणमा नेप्सेम्याकः फोहोरलाई उद्योगसँग जोड्ने तयारी

काठमाडौँ । ‘आजको फोहोर, भोलीको लागि रोग बन्न सक्छ’ भन्ने सचेतनामुलक सन्देशलाई अंगीकार गर्दै घरमात्र होइन, समाज नै सफा गर्नुपर्ने भन्ने सामाजिक भावनाका साथ काठमाडौँ उपत्यकाका साथै काभ्रेपलाञ्चोक जिल्लामा समेत फोहोरलाई मोहरको रुपमा रुपान्तरण गरिरहेको नेप्सेम्याक सेवा प्रा.लि.ले घर, पसल, सार्वजनिक स्थल तथा वातावरणमा उत्पादन हुने फोहोरलाई चार प्रकारले वर्गीकरण गरी संकलन गर्ने कार्यको शुरुवात गरेको छ ।

‘सुन्दर शहर, स्वस्थ मानिसको जीवन’ बनाउने तीनवटै तहका सरकारको अभियान, जसमा स्थानीय तहको जिम्मेवारी अन्तरगत रहेको फोहोरमैला व्यवस्थापनलाई एउटा रथको दुई पांग्राको रुपमा कार्य गरिरहेको नेप्सेम्याकले फोहोरलाई चार प्रकारमा वर्गीकरण गरी उत्पादन, रोजगार र उद्योगसँग जोड्ने अभियान चलाइहेको छ । चार प्रकारका संकलित फोहोरहरुमा पहिलो, मल बन्ने फोहोर (कुहिने, जैविक, तरकारीका बोक्रा, खानालगायतका घरयासी तथा सामाजिक क्षेत्रका अन्य फोहोरहरु), दोस्रो, बगैंचा–पार्क–खुल्ला क्षेत्रबाट निस्कने झारपात, तेस्रो, सीसाजन्य वस्तु (अजैविक फोहोर, प्लास्टिक तथा अन्य नकुहिने फोहोर) र चौथोमा बधसालाबाट निस्कने फोहोर (कुखुराका रौं, माछा, राँगा, खसीलगायतका मासु पसलबाट निस्कने फोहोर) रहेका छन् ।

फोहोर व्यवस्थापन गर्नु भनेको स्वास्थ्यको लगानी हो । जसमा नागरिकले निरोगी र स्वच्छ वातावरणमा जीविकोपार्जन गर्न पाउनु हो । ‘फोहोर समस्या होइन, गलत व्यवस्थापन हो,’ नेप्सेम्याकका निर्देशक बाबुराम चौलागाईले भन्नुभयो, ‘फोहोरलाई स्रोतमा बदल्नु नै वुद्धिमानी हो ।’ यसैको आधार रहेर स्थानीय सरकारको समन्वयमा विशेष गरी काठमाडौँ उपत्यकालाई सफा शहर सपना नभई सामुहिक प्रयास हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सफा शहर बनाउने जिम्मा सरकारको मात्र नभई आम नागरिकको पनि भएको उल्लेख गर्दै उहाँले आम नागरिक बदलिए समाजको रुपनै बदलिने दावी गर्नुभयो । नेप्सेम्याकले आफ्नो कार्यक्षेत्रमा चार प्रकारमा वर्गीकरण गरिएको फोहोरलाई कुहिने फोहोर हप्तामा दुई दिन, नकुहिने फोहोरलाई हप्तामा एक दिन र बधसालाबाट निस्कने फोहोरलाई आवश्यकता अनुसार दैनिक गरि छुट्टाछुट्टै संकलन गरी व्यवस्थापन गरिरहेको उहाँले जानकारी दिनुभयो ।

वर्गीकरण गरिएको फोहोरलाई नेप्सेम्याकले उत्पादन, रोजगारसँगै उद्योगसँग जोड्ने कार्यको समेत गरिरहेको छ । ग्राहकले घरमा नै फोहोर वर्गीकरण गरेवात वार्षिक पाँच केजी जैविक मल निशुल्क उपलब्ध गराई रहेको छ । योसँगै नेप्सेम्याकले फोहोर संकलनलाई नविनतम् प्रविधि र परिस्कृत ढंगले लैजाने रणनीति बनाएको छ । विकसित मुलुकहरु युरोप, जापान, अमेरिका लगायतका देशहरुले सोही चार प्रकारकै वर्गीकरण गरी फोहोरलाई मोहरको रुपमा रुपान्तरण गरेको निर्देशक चौलागाईले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘भक्तपुरको फोहोरलाई ल्याण्डफिल्डमा लैजानै नपर्ने गरी नविनतम प्रविधिको प्रयोग गरी वर्गीकृत फोहोर संकलन गर्ने कार्य शुरु गरेका छौं । अबको हाम्रो अभियान भनेको फोहोरलाई उद्योग, रोजगार तथा उत्पादनसँग जोडेर लैजाने हो । फोहोरबाट मल बनाउने कार्य पहिलेदेखि नै गरिरहेका छौं । अब फोहोरबाट सिमेन्ट, विजुली, ग्यास उत्पादनलगायतका कार्यहरु गरी नागरिकलाई उत्पादन तथा रोजगारीमा कसरी जोड्न सकिन्छ ? भनेर अध्ययनको चरणमा छौं । विकसित मुलुकहरुको प्रविधिको समेत अध्ययन गरिहेका छौं । राज्यले यथोचित सहयोग गरेमा फोहोरबाट नै ठूलो मात्रामा रोजगारी सिर्जना गर्ने मात्र नभई आर्थिक समृद्धिको आधार बनाउन सकिन्छ । जसको शुरुवात गर्ने रणनीतिमा छौं । अहिले परीक्षणको चरणमा छौं ।’

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ