काठमाडौँ । कञ्चनपुरमा माटो खन्ने क्रममा माटोको ढिस्को खस्दा एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएकी छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शुक्लाफाँटा नगरपालिका–१२ तिलकी निवासी करिब ४० वर्षीया हरदुलिया रानाको घटनास्थलमै मृत्यु भएको हो । उनी लालझाडी गाउँपालिका–४ इटाहा क्षेत्रमा घर लिपपोतका लागि माटो खन्न गएकी थिइन् ।
सोही घटनामा करिब ५५ वर्षीया सुन्दरीया राना घाइते भएकी छन् । उनको दाहिने खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि धनगढी लगिएको छ ।
वडाध्यक्ष नवलसिंह रानाका अनुसार घटनास्थलमा माटो खन्न गएका अन्य दुई जना भने सकुशल रहेका छन् । शव परीक्षणका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।










