आकस्मिक समयलाई थप व्यवस्थित बनाइने सभामुख अर्यालको घोषणा

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको ‘आकस्मिक समय’लाई थप व्यवस्थित बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल गरिने बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा केही सांसदले समसामयिक विषयमा धारणा राखेपछि आकस्मिक समय सकिएलगत्तै शून्य समय सुरु गर्न खोजिएको थियो । सो क्रममा थप सांसदहरू बोल्न आसनबाट उठेपछि सभामुखले उनीहरूलाई बस्न आग्रह गरेका थिए ।

सांसदहरू राजेन्द्रकुमार राई, बलावती शर्मालगायतले बोल्न खोजेपछि सभामुखले आकस्मिक समयको संसदीय अभ्यासबारे स्पष्ट पार्दै अघिल्लो बैठकदेखि हालसम्म जनजीवनसँग सम्बन्धित महत्वपूर्ण विषयमा मात्रै उक्त समयमा बोल्न पाइने बताए ।

सभामुखले संवेदनशील नलाग्ने विषयमा समय नदिन सकिने अधिकार आफूलाई रहेको उल्लेख गर्दै आवश्यकताअनुसार थप सदस्यलाई पनि बोल्न समय दिइएको जानकारी दिए ।

उनले संसदमा आकस्मिक समयसँगै शून्य समय र विशेष समयमार्फत समसामयिक विषय उठाउने अभ्यास रहेको पनि स्मरण गराए ।

सम्बन्धित खवर