सात वर्षअघि मजदुर हत्या गरी फरार अभियुक्त बाराबाट पक्राउ

चितवन । चितवनको खैरहनीमा सात वर्षअघि एक मजदुरको हत्या गरी फरार रहेका अभियुक्तलाई प्रहरीले बाराबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवन र मातहतका प्रहरी टोलीको संयुक्त प्रयासमा अभियुक्तलाई नियन्त्रणमा लिइएको हो।

२०७६ साल चैत २३ गते खैरहनी नगरपालिका–९ स्थित नेपाल ग्यास उद्योग गण्डकीको कम्पाउण्डभित्र ४६ वर्षीय सखिचन महराको हत्या भएको थियो। उनको शव मजदुरहरू बस्ने कच्ची घरको कोठामा फेला परेको थियो।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा सोही स्थानमा कार्यरत तत्कालीन ३० वर्षीय पुनदेव भन्ने पञ्चदेब महराले हत्या गरेको निष्कर्ष निकालिएको थियो। उनी घटना लगत्तै फरार भएका थिए।

हत्या आरोपित महरा बारा जिल्लाको फेटा गाउँपालिका–१ स्थित त्रिवेणी टोलमा लुकेर बसेको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय रत्ननगर (टाँडी) र खैरहनीबाट खटिएको संयुक्त टोलीले यही जेठ ५ गते उनलाई नियन्त्रणमा लिएको हो।

उनीमाथि चितवन जिल्ला अदालतबाट २०७६ साल चैत २५ गते नै पक्राउ पुर्जी जारी गरिएको थियो। हाल उनलाई इलाका प्रहरी कार्यालय खैरहनीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ