काठमाडौं उपत्यकासहित मध्य र पूर्वी क्षेत्रमा वर्षा, पश्चिममा गर्मी

काठमाडौं । काठमाडौं उपत्यकासहित मध्य र पूर्वी नेपालका विभिन्न स्थानमा रातिदेखि नै वर्षा भइरहेको छ । मौसमविद्हरूका अनुसार पानी पर्ने र रोकिने क्रम आज दिनभर जारी रहने सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार कोशीदेखि गण्डकी प्रदेशसम्म हिजोदेखि नै वर्षा भइरहेको छ । पूर्वी भूभागमा भारत नजिक विकसित न्यूनचापीय प्रणाली र काठमाडौं उपत्यका आसपासमा स्थानीय वायुको प्रभावका कारण वर्षा भइरहेको उनले बताए ।

“काठमाडौं, नुवाकोट र सिन्धुपाल्चोकतिर स्थानीय प्रणालीका कारण बादल विकास भइरहेको छ,” मौसमविद् अधिकारीले भने, “यो बादल क्रमशः पूर्वतिर सर्दैछ ।”

गत २४ घण्टामा सिन्धुपाल्चोकको गोब्रे केन्द्रमा सबैभन्दा धेरै ८१ मिलिमिटर वर्षा मापन गरिएको छ । बादल पूर्वतिर सर्दै गएकाले केही घण्टामा काठमाडौं उपत्यकामा वर्षा रोकिने र दिउँसो फेरि वर्षा हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ ।

आज कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैबीच पश्चिम नेपालमा भने वर्षा नहुँदा गर्मी बढेको छ । दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवा लगायतका स्थानमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ, जसले जनजीवन प्रभावित पारेको छ ।

मौसमविद्हरूका अनुसार पश्चिम तराईमा अझै केही दिन गर्मी बढ्ने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिमका क्षेत्रमा तातो हावाको लहर चल्न सक्ने चेतावनी दिइएको छ । त्यसैले आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ