काठमाडौँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनकी शिशुको मृत्यु घटनामा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका घर भई हाल सिद्धार्थ टोलमा बस्दै आएकी ३७ वर्षीया मैना थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीका अनुसार शिशु प्रिन्सी थापालाई घरबेटीको करेसाबारीमा खाल्डोमा पुरिएको अवस्थामा उनका पिता गोपाल थापाले फेला पारेका थिए । त्यसपछि उपचारका लागि तनहुँ सेवा अस्पताल दुलेगौँडा लगिएकोमा चिकित्सकले शिशुलाई मृत घोषणा गरेका थिए ।
घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले मैना थापालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा उनले डिप्रेसनसम्बन्धी औषधि सेवन गर्दै आएको खुलेको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।










