काठमाडौँ । अपाङ्गता लगायतका विभिन्न कारणले दुई दशकअघि पढाइ छोडेकी लक्ष्मी घिमिरेले पुनः अध्ययन सुरु गरी एसईईमा राम्रो नतिजासहित उत्तीर्ण भएपछि सम्मानित भएकी छन्। अपाङ्गता भएका एकल महिलाको सशक्तीकरणमा कार्यरत संस्था पहिचान नेपालले उनलाई प्रेरणादायी उदाहरणका रूपमा सम्मान गरेको हो।
संस्थाकी कार्यकारी निर्देशक इक्ष्या केसीले अपाङ्गता भएका एकल महिलालाई आत्मनिर्भर र सम्मानजनक जीवनयापनतर्फ प्रेरित गर्ने उद्देश्यले लक्ष्मीलाई सम्मान गरिएको बताइन्। उनका अनुसार अपाङ्गताका कारण परिवारबाट समेत उपेक्षित भएका महिलालाई सीपमूलक तालिम, बीउपूँजी तथा हौसला प्रदान गर्दै आएको छ।



पहिचान नेपालले अपाङ्गता भएका महिलालाई विभिन्न सीप सिकाई स्वरोजगार बन्न सहयोग गर्नुका साथै उनीहरूका बालबालिकाको शिक्षामा समेत सहयोग गर्दै आएको जनाएको छ। संस्थाले हालसम्म विभिन्न तालिम प्राप्त गरी आत्मनिर्भर बनेका ३० जना महिलाका सफलताका कथा संकलन गरेको र त्यसलाई प्रकाशन गर्ने तयारी गरिरहेको छ।
कार्यक्रममा एविलिस नेपालका संस्थापक वीरेन्द्रराज पोखरेलले अपाङ्गता भएका महिलाले भोगिरहेका चुनौतीहरूलाई उजागर गर्न र उनीहरूको सफलताका कथा सार्वजनिक गर्न सञ्चारमाध्यमले थप भूमिका खेल्नुपर्ने बताए। उनले अपाङ्गता क्षेत्रका लागि विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनमा पनि ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।








