काभ्रेपलाञ्चोकमा ट्राफिक प्रहरीद्वारा वार्षिक कार्यसम्पादन सार्वजनिक

काभ्रेपलान्चोक -: जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०८२/८३ मा सडक सुरक्षा, ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणका क्षेत्रमा सम्पादन गरेको विवरण सार्वजनिक गरेको छ ।

कार्यालयले बिहीबार वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन, जनचेतना अभिवृद्धि र राजस्व संकलनमा सकारात्मक प्रगति भएको जानकारी दिएको छ ।

कार्यालय प्रमुख प्रहरी निरीक्षक सन्तोष श्रेष्ठका अनुसार जिल्लामा रहेका १० वटा स्थानीय ट्राफिक पोस्ट मार्फत नियमित ट्राफिक व्यवस्थापन, सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिएको छ। गत आर्थिक वर्षमा ४,३३१ वटा ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरी ३ लाख ४५ हजार ५१२जना सडक प्रयोगकर्तालाई सडक सुरक्षा, ट्राफिक नियम तथा दुर्घटना न्यूनीकरण सम्बन्धी अभिमुखीकरण गरिएको जानकारी दिएका थिए ।

दुर्घटना न्यूनीकरणका लागि जिल्लाका ६५ वटा दुर्घटना सम्भावित (ब्ल्याक स्पट) क्षेत्र पहिचान गरी सम्बन्धित निकायसँग सुधारका लागि समन्वय गरिएको कार्यालयले जनाएको छ।

ट्राफिक नियम उल्लङ्घन गर्ने १० हजार ९०९जना सवारी चालकलाई कारबाही गरी ९७ लाख २६ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ। त्यस्तै मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने ३११ जना चालकलाई कारबाही गरी १लाख ६७ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ। क्षमता भन्दा बढी भार बोकेका २ हजार ३९ वटा मालवाहक सवारीलाई कारबाही गर्दा १९ लाख ४७हजार ५ सय रुपैयाँ राजस्व उठेको कार्यालयले जनाएको छ र लापसे गरेर सवारी चलाउने ८३ जना चालक लाई सम्बन्धित प्रहरी कार्यलयमा थप कारबाहीको लागि पठाएको बताए ।

सडक दुर्घटनाको तथ्याङ्कले पनि सुधारको संकेत गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा १८१वटा दुर्घटना हुँदा ३३ जनाको मृत्यु र ८५जना गम्भीर घाइते भएका थिए। २०८१/८२ मा दुर्घटना १४३मा झर्दा २५ जनाको मृत्यु र ७४जना गम्भीर घाइते भएका थिए। यस्तै २०८२/८३ मा १३८ दुर्घटना भएको र २९ जनाको मृत्यु तथा ७५जना गम्भीर घाइते भएको विवरण सार्वजनिक गरिएको छ ।

प्रहरी निरीक्षक श्रेष्ठले सडक विस्तारसँगै बढ्दो सवारी चाप, सीमित जनशक्ति र भौतिक स्रोत–साधन, साँघुरा सडक तथा चालक र यात्रुमा ट्राफिक नियम पालनाको कमी अझै चुनौतीका रूपमा रहेको बताए। यी चुनौती समाधानका लागि स्थानीय तह, सरोकारवाला निकाय र समुदायसँग समन्वय गरी सडक सुरक्षा अभियानलाई थप प्रभावकारी बनाइने जानकारी दिएका थिए ।

सम्बन्धित खवर