सन्तोष बजगाई
तनहुँ/ नेपालकाे हरिद्वार मानि हरिहर क्षेत्र देवघाट धाम तनहुँ जिल्ला अन्तर्गत रहेको देवघाट गाउँपालिका वडा नम्बर ५ मा अवस्थित श्रीकृष्ण कृपाधाम देवघाटमा आगामी पौष २८ गतेदेखि माघ ५ गतेसम्म श्रीमद् तारतम वाणी चर्चा एवं श्रीमद्भागवत हुने भएको छ।
नेपालकाे हरिद्वार मानि हरिहर क्षेत्र देवघाट यस धरामा रहेर हाम्रा अग्रज पुर्खा ऋषि महर्षिहरूले हजाराै वर्ष तपस्या र साधनाकाे वलले खाेज अन्वेषण गरेर मानव जीवनलाई भाैतिकसुविधा सम्पन्न बनाउने याेगदान दिनुभएको छ । उहाँहरूकै याेगदानले हामी साैभाग्यशाली भएका छाै । नेपाल एक विश्वकै वैदिक विविधताले परिचित राष्ट्र हाे ।
संस्कृत विद्या र धर्मसंस्कृति अध्ययन गर्ने त देशभरिकै मुख्य केन्द्र नै हो यो भूमि। यसै पुण्यस्थलमा नेपालका प्रथम महिला भागवत वाचिका श्री तारा माताजीको अगुवाइमा चितवन, नवलपरासी र तनहुँ जिल्लाका श्रीकृष्ण प्रणामी धर्मावलम्बीहरूको सत्प्रयासबाट वि.सं. २०६३ सालमा श्री प्राणनाथ अनाथ सेवा आश्रम स्थापना भएको थियो । उक्त आश्रम स्थापना र त्यसको संवर्द्धनका लागि देशभरिका सत्धर्मप्रेमी सुन्दरसाथ भक्तजनहरूबाट तन, मन र धनले सहयोग हुँदै आएको छ ।
श्रीकृष्ण कृपाधाम मन्दिर देवघाट ५ तनहुँको आयोजनामा हुने सो बृहत् महायज्ञमा श्रीकृष्ण मङ्गलम गुरुजीको मुखारविन्दबाट र नेपालकै पहिलो भागवत बाचिका एवं श्रीमद्भागवत कथा साध्वी १०८ तारा माताजीको मुखारविन्दबाट हुन लागेको हो ।
श्रीमद् तारतमवाणी र श्रीमद्भागवतको पाठ पाँचजना विद्वान गुरुजनहरूबाट हुने मन्दिर समितिले जनाएको छ । सातदिन सम्म हुने महायज्ञमा कलश यात्रा सहित कथा बाचन, कृष्ण महिमा, पंचम भागवत् पाठ, दुई तारतम पाठ साथै ब्रतबन्ध समेत गरिने माता तारा घिमिरेले जानकारी दिनुभयो ।

सो कथा पाठपारायणमा झन्डै १० हजार भन्दा बढी भक्तजनहरुको सहभागीता रहने अपेक्षा आयोजकले लिएको छ । यसअघि पनि हुँदै आइरहेका धार्मिक कार्यक्रमहरुमा नेपाल भरका विभिन्न जिल्ला बाट र छिमेकी राष्ट्र भारतबाट समेत भक्तजनहरु आउने गरेका छन् ।
नेपालको मध्यभागमा अवस्थित देवघाटधाम विश्वभरिका हिन्दुहरूको प्रमुख तीर्थस्थल मानिन्छ । त्रिशूली र कालीगण्डकीको संगम, नवलपरासी, तनहुँ र चितवन जिल्लाको सिमाना जोडिएको यो पवित्रभूमि देवघाटको धार्मिक महत्त्व जति छ, त्यति नै यस पावनभूमिको प्राकृतिक सौन्दर्यता पनि छ ।

शुद्ध हावापानी, हरियाली वनजंगल र थरिथरिका बोटविरुवा वनस्पतिले यस क्षेत्रलाई शोभायमान बनाएको छ । जीवनको उत्तरार्धमा गृहस्थ जीवन परित्याग गरी परममुक्तिका लागि आउने धर्मात्माहरूको नित्य पाठपूजा र कीर्तन, आश्रम र मन्दिरमा बज्ने शंख-घण्टको सुमधुर ध्वनि, विद्वान्/विदुषीहरूबाट भइरहने सारगर्भित प्रवचन जस्ता धार्मिक अनुष्ठानहरूले यहाँको वातावरण नै शान्त र ऊर्जामय छ। त्रिशूली नदीको वारिपारि चितवन र तनहुँ क्षेत्रमा धेरै मन्दिर, आश्रम, विद्यालय, महाविद्यालय र बाल-वृद्धाश्रमहरू रहेका छन् ।
वेदादि धर्मशास्त्र एवं दर्शनका आधारमा क्षर, अक्षरभन्दा पर अक्षरातीत धामको (परमधाम सम्मको) दिव्यलीला चिन्तन गर्दै परब्रह्म स्वरूप अक्षरातीत श्रीकृष्णको परा प्रेमलक्षणा भक्तिलाई आत्मसात गरी आत्मालाई परमधाममा जागृत गराउन सतगुरु श्री देवचन्द्रजी महाराज र महामति स्वामी श्री प्राणनाथजीद्वारा प्रतिपादित विशिष्ट मान्यता नै श्रीकृष्ण प्रणामी धर्म निजानन्द सम्प्रदायको मूल सिद्धान्त को रुपमा मानिदै आएको छ।
सबैले सभ्य भब्य र उत्कृष्ट यस कार्यक्रमकाे अवलाेकन र दिब्य ज्ञान रसपानकाे अवसर नगुमाउँ , सहभागी हौं ।











