काभ्रेपलान्चोक / नेपाल सरकार युवा परिषद् नेपालको आर्थिक सहयोग र हातेमालो सामुदायिक सिकाइ केन्द्र बेथानचोकको संयोजनमा बेथानचोक गाउँपालिका वडा नं २ ढुंखर्कमा माघ २७ देखि २९ गते सम्म सञ्चालन भएको विपद व्यवस्थापनका लागि युवा स्वयंसेवकको विकास तथा परिचालन विषयक तीन दिने तालिम कार्यक्रम आज सम्पन्न भयो । तालिम कार्यक्रमको समुद्घाटन युवा परिषद् नेपालका प्रशासकीय प्रमुख चन्द्रा कुमारी थापाज्यूको प्रमुख आथित्यतामा भएको थियो भने कार्यक्रमको समापन बेथानचोक गाउँपालिका वडा नं ३ का अध्यक्ष कुबेर ढकाल ज्युको प्रमुख आथित्यतामा सपन्न भएको थियो । कार्यक्रममा सिकाइ केन्द्रमा निरन्तर शिक्षा अध्ययनरत प्रौढहरु र वडा नं २ र ३ का युवाहरू सम्मिलित तीन दिने तालिममा सहभागी ५३ जना, जनप्रतिनिधि र सरोकारवाला महानुभावहरुको भव्य उपस्थिति थियो ।

स्वागत मन्तव्य र कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै सिकाइ केन्द्रका अध्यक्ष मछिन्द्र कुमार लामाले विपद् व्यवस्थापनमा स्थानीय युवाहरूको महत्वपूर्ण भुमिका रहेको हुनाले आफुले युवा परिषद्संग समन्वय गरेर तालिमको आयोजना गरेको बिषय ब्यक्त गर्नु भएको थियो। राष्ट्रिय युवा परिषद्को कार्यक्रम, नीति र भावी योजनाको सन्दर्भमा परिषद्का प्रशासकीय प्रमुख चन्द्रा कुमारी थापाज्युले प्रस्ट्याउनु भएको थियो। तालिम कार्यक्रमको पहिलो दिनको सबै सेसनमा बिषयगत कक्षा सञ्चालन भएको थियो भने दोस्रो दिनको सबै सेसन र तेसो दिनको दुई ओटा सेसन प्रयोगात्मक अभ्यास र एक ओटा सेसनमा मानसिक तनावबाट मुक्त हुन मनोपरामर्श कक्षा सञ्चालन भएको थियो। बिषयगत कक्षा शुकराज राई र सिताराम लामाले सहजीकरण गर्नु भएको थियो भने मनोपरामर्श कक्षा बहुसाँस्कृतिक मनोसामाजिक संस्था नेपालका मनोसामाजिक विमर्श कर्ता भिम बहादुर तामाङले सहजीकरण गर्नु भएको थियो । प्रयोगात्मक अभ्यास अन्तर्गत बाढीबाट प्रभाभित हातेमालो सामुदायिक सिकाइ केन्द्र सञ्चालनमा रहेको नेपाल रेडक्रस सोसाईटी ढुंखर्क उपशाखाको भवन सरसफाई र रंगरोगन गर्ने काम भएको थियो ।
यस कार्यक्रममा बेथानचोक गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा नं २ र ३ का वडाअध्यक्षज्युहरू प्रमुख प्रशासकीय अधिकृत र शिक्षा शाखाका कर्मचारीहरुलाई निमन्त्रणा भएको थियो।
उद्घाटन सत्रमा वडा नं २ का वडाअध्यक्ष पुरुषोत्तम तिमल्सिनाले यो तालिम युवाहरूको लागि अति सान्दर्भिक भएको हुनाले तालिमको लागि संयोजन गर्नुहुने हातेमालो सामुदायिक सिकाइ केन्द्र र युवा परिषद् नेपाललाई धन्यवाद ब्यक्त गर्दै तालिम सफलताको लागि शुभकामना प्रदान गर्नु भएको थियो। सिकाइ केन्द्रको सदस्य रसिला परियारले उद्घाटन सत्र र समापन सत्र दुबै कार्यक्रम संचालन गरेकी थिइन ।
समापन सत्रमा अतिथि वाशु तिमल्सिनाले पनि आफ्नो मन्तव्य राख्नु भयको थियो। प्रमुख अतिथि वडा नं ३ का वडाअध्यक्ष कुबेर ढकालज्युले यो तालिम कार्यक्रमले युवाहरूलाई जागरूक बनाएको, बिषयगत र प्रयोगात्मक तालिम अत्यन्तै सान्दभिक र प्रभावकारी भएको हुनाले यो जनशक्ति विपद् व्यवस्थापनमा परिचालन हुन सक्ने बताउनु भएको थियो। युवा स्वयंसेवकहरूमा महिलाहरूको उत्साहजनक र उल्लेख्य सहभागिता भएको देख्दा पक्कै पनि यो तालिमले युवाहरूमा उच्च जोश, जाँगर र उर्जा प्राप्त हुनेछ भन्ने विश्वास आफुले गरेको र पछिल्लो दिनमा समेत हातेमालो सामुदायिक सिकाइ केन्द्रले संचालन गरेको निरन्तर शिक्षाले प्रौढ महिला र पुरुषहरूको शैक्षिक चेतना स्तर बृद्धि गर्न कोशेढुङ्गा साबित भएको बताउनु भएको छ। हातेमालो सामुदायिक सिकाइ केन्द्र बेथानचोक गाउँपालिकाको अनौपचारिक विद्यालय, सीप र विद्यालय शिक्षाबाट बञ्चित नागरिकलाई शिक्षा दिएर समग्र विकासको लागि एक हिस्सा भएको हुनाले यसको विकास, विस्तार र प्रवर्द्धनमा सबै लाग्नुपर्ने बताउदै उत्तरोत्तर प्रगतिको लागि शुभकामना ब्यक्त गर्नु भएको थियो।

अन्तमा
आर्थिक सहयाेग गर्ने राष्ट्रिय युवा परिषद्, बेथानचोक वडा नं २ र ३ को वडाअध्यक्ष ज्युहरू र सरोकारवाला सबै जना कार्यक्रम उपस्थित भई उर्जा प्रदान गर्नु भएकोमा हार्दिक धन्यवाद र कृतज्ञता ब्यक्त गर्दै तीन दिने कार्यक्रमको समापन संस्थाका अध्यक्ष मछिन्द्र कुमार लामाले गर्नु भएको थियो।












