“हजारौं पर्यटक को रोजाई बेथानचोक नारायणस्थान”

काभ्रेपलान्चोक / काभ्रेपलान्चोक जिल्लाको दक्षिणी भेग महाभारत क्षेत्रको सबैभन्दा अग्लो डाँडा हो ‘बेथानचोक नारायणस्थान डाँडा’ । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका वडा नम्बर ३ मा पर्ने सो डाँडा एकातिर जिल्लाकै सबैभन्दा अग्लो स्थान, अर्कोतर्फ धार्मिक दृष्टिकोणले पनि ऐतिहासिक धार्मिक नारायणको मन्दिर । यी दुवै कारणले बेथानचोक नारायणस्थान डाँडा अहिले निकै चर्चामा छ ।

भूगोलको हिसाबले पनि हेर्दा निकै अग्लो रहेको सो ठाउँमा अचेल आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । हिमालका मनमोहक दृश्यसँगै तराईको समथर भूभागदेखि जिल्लाका विभिन्न पालिकाको भौगोलिक अवस्थालाई नियाल्न समेत उपयुक्त रहेको सो ठाउँमा बेथानचोक गाउँपालिकाको ढुंखर्क बजारबाट हिँडेर तीन घण्टामा सजिलै पुग्न सकिन्छ । यहाँबाट नजिकको आभास हुने गरी सूर्योदयको दृश्यावलोकन गर्न समेत सकिने भएकाले हिजो आज सो ठाउँमा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको हो । हिउँदको समय, खुला आकाश, शान्त र मनोरम वातावरण, त्यससँगै नजिकैको जङ्गलबाट आउने चरचुरुङ्गीको सुमधुर आवाज सङ्गीतझैँ कानमा गुञ्जने गर्दा अर्को आनन्दको अनुभूति गर्न सकिन्छ । त्यसमाथि वरिपरि हरियाली जङ्गलदेखि माथिको ठूलाठूला चट्टानले बनेको अग्लो खुला ठाउँ, जहाँ बस्न, रमाइलो गर्न र वनभोज खान समेत पर्याप्त ठाउँ भएकाले पनि पर्यटकको रोजाइमा बेथानचोक नारायणस्थान डाँडा पहिलो गन्तव्य बनेको हो।

त्यहाँ पुग्ने पर्यटकको साझा अनुभूति छ, “जीवनमा प्राकृतिक, धार्मिक र स्वस्थ हुनु छ भने बेथानचोक नारायणस्थान डाँडा रोज्नु उत्तम हुन्छ ।” जानका लागि खासै गाह्रो नभएको, धार्मिक र प्राकृतिक दृष्टिकोणले निकै महत्वपूर्ण रहेको नारायणस्थान डाँडा हरेक दृष्टिकोणले धेरै राम्रो लागेको पर्यटकहरुले बताउदै आएका छन। “धर्ममा आस्था राख्नेले नारायणको दर्शन गर्न पाउनु, प्रकृति प्रेमी प्राकृितक सुन्दर दृश्यसँग एकाग्र हुन पाइने र मनोरञ्जन लिनका लागि उपयुक्त वातावरण भएकाले निकै सुन्दर रहेको पर्यटकले बताउदै आएका छन।

बेथान चोकको किम्बदन्ती यस्तो रहेको छ प्रचिन कालमा मल्ल राजाको पालामा नारायण भक्तपुरको कोलाहल मन नपरेर बेथानचोकमा प्रतिस्थापित भएको किम्बदन्ती त्यहाँका बासिन्दामा प्रचलित रहेछ । पहिला ढुंखर्क बासीले यो उचाइलाई नारायणथान भन्थे  यो ठाउँको पूरानो नाम बेथानचोक नारायण रहेको साथै गाउँपालिकाको नाम बेथानचोक नारायण राखिएपछि अहिले सबैले यो ठाउँलाई बेथानचोक नारायण भन्दै आएका छन् ।

स्थानीय बासिन्दा गेण प्रसाद तिमल्सिना का अनुसार नारायण मन्दिरको इतिहास धेरै पुरानो छ । भक्तपुरबाट भूपतीन्द्र मल्लको पालामा बेथानचोक नारायण भनेर आएको र सो क्रममा गाउँपालिका–३ को नारायणटारमा आएर बसेको किंवदन्ती छ । अहिले सो ठाउँलाई शिवालय भनिन्छ । “सो ठाउँको ठीक पारिपट्टि नेवार बस्ती रहेको र बिहान सबेरै कुखुरा कराउने, ढिकीजाँतो चलाउने आवाजका कारण त्यहाँबाट बेथानचोक नारायणस्थान डाँडामा गएर बसेको भन्ने छ”, उनले भने, “मासुचाहिँ देख्नै हुँदैन भगवान् नारायणलाई । हिंसा मन नपर्ने भएकाले वरिपरि जाँड, रक्सी र मासु खाएर होहल्ला गर्नुहुँदैन ।”

दृश्यावलोकनसँगै शान्त र सुन्दर ठाउँ भएकाले पनि पर्यटक धेरै मात्रमा घुम्न आउने गरेको उनले बताए । पहिला मन्दिरको संरचना नै नभएका कारण विसं २०५६ मा राघवेन्द्र गुरुले त्यहाँ पुगेर मन्दिर स्थापित गर्नुका साथै कोटिहोम लगाएर थप व्यवस्थित गर्ने काम गरेको स्थानीय बासिन्दा बताउँछन् । विषेशगरी फागुन पूर्णिमामा मेला लाग्ने गरेको नारायणस्थान डाँडालाई थप व्यवस्थित गर्न आवश्यक रहेको स्थानीय बासिन्दाले पालिकासँग माग गरेका छन् ।

पर्यटकको सङ्ख्यामा वृद्धिसँगै पालिका त्यहाँ जाने सिँढी बाटोको स्तरोन्नति, मन्दिरको जीर्णोद्धार गर्नुका साथै पर्यटकलाई बस्ने ठाउँको व्यवस्थापनमा लागेको उहाँले बताउनुभयो । त्यसका लागि पालिकाले फोहर व्यवस्थापन कार्यविधिसमेत निर्माण गरिसकेकाले अब सो क्षेत्रको सरसफाइ व्यवस्थापनको काम व्यवस्थित हुने उनको भनाइ छ ।

सो ठाउँमा घनाजङ्गल रहेका कारण बाटो बिराएर पर्यटक हराउन सक्ने अवस्था रहेको भन्दै त्यसका लागि विवरण सङ्कलन गर्ने तयारीमा स्थानीय सरकार रहेको छ । त्यसका लागि बेथानचोक नारायणस्थान डाँडा प्रवेशद्वार गेल्डुङबजारमा नाम सङ्कलन गरेर मात्रै नारायणस्थान डाँडा प्रवेशका लागि अनुमति दिने व्यवस्था गर्न लागिएको बेथानचोक गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष कुबेर ढकाल ले बताए । त्यस सँगै स्थानीय सरकारले सो क्षेत्रमा जान भौतिक विकासको पूर्वाधार निर्माणको काम अगाडि बढाउदै आएको बताउछन ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ