चैत्र २० मा काभ्रेका पुरुषोत्तमको उपन्यास ‘नीलो प्रेम’ विमोचन

सन्तोष बजगाई
काठमाडौँ / युवा लेखक पुरुषोत्तम बजगाईं ‘नीलो प्रेम’ उपन्यास लिएर आएका छन् । यो उनको पहिलो प्रकाशित कृति हो । काठमाडौंमा चैत २० गते बुधबारका दिन उक्त कृतिको विमोचन गरिएको छ ।

काभ्रेपलान्चोक जिल्लाको साविक उग्रचण्डी नाला गाविस वडा नम्बर ८ काँक्रे, हाल बनेपा नगरपालिका वडा नम्बर ३ मा पिता पण्डित उद्धव शास्त्री, माता गायत्री बजगाईँको कोखबाट जन्म लिएका पुरुषोत्तम बजगाईं हाल अमेरिका बस्दै आएका छन् ।

विश्वमै प्रतिष्ठित मानिने कोलम्बिया विश्वविद्यालयबाट कम्प्युटर साइन्स अध्ययन गरेका पुरुषोत्तमले नेपाली साहित्यमा कलम चलाउँदै आएका छन् ।
‘नेपाली पढ्न-लेख्न गाह्रो छ’ भन्ने गलत भाष्यलाई मेटाई नेपाली भाषाप्रति नयाँ पुस्तालाई आकर्षित गराउनुपर्ने उनको धारणा रहेको छ ।

पुरुषोत्तम काभ्रेपलान्चोक-अमेरिका कल्याणकारी समाजको वर्तमान काेषाध्यक्ष पनि हुन् । यो संस्थाले काभ्रेका मानिसलाई एक जुट पारी सहयोग र सहकार्यको संयोजन गर्दै आएको पाइन्छ । विदेशमा रहेका नेपालीलाई अप्ठेरो पर्दा होस् वा स्वदेशमा रहेकालाई सहयोगको आवश्यकता पर्दा होस्, यो संस्थाले केही न केही गरेको देखिन्छ ।

उपन्यास विमचोन कार्यक्रम नेपाल प्रज्ञा-प्रतिष्ठान, कमलादीमा भएको थियो । स्रष्टा, समालोचक प्रा डा कृष्णहरि बराल, राजुबाबु श्रेष्ठ, घनेन्द्र ओझा, विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, लेखककी हजुरआमा नन्दकुमारी बजगाईं, आमाबुबा, जीवनसाथी सुजाता चौलागाईंलगायतले उक्त कृति विमोचन गरेका थिए । कार्यक्रममा लोकप्रिय लेखक अमर न्यौपानेको पनि उपस्थिति थियो ।

इन्डिगो इन्कले प्रकाशन गरेको ‘नीलो प्रेम’ विशेषगरी किशोर-किशोरीका प्रेममा केन्द्रित जस्तो देखिए पनि यसमा सामाजिक, सांस्कृतिक, आर्थिक पक्षको समेत मिहीन ढंगले उजागर भएको समीक्षक घनेन्द्र ओझाले बताए । उनले ‘नीलो प्रेम’ आदर्श प्रेमको पक्षमा देखिएको भन्दै यो उपन्यास विषयका हिसाबले सबै उमेर समूहका पाठकका लागि उत्तिकै उपयुक्त रहेको सुनाए ।

पुरुषोत्तम बताउँछन्, उपन्यास साँगाको पुलिस स्कुलबाट सुरु हुने भनिएकाले विमोचनकै दिन पुरुषोत्तमलाई एक जनाले सोध्नुभयो, “के नीलो प्रेम पुलिस स्कुलको कहानी हो ?” अर्कोले सोध्नुभयो,”यो स्कुले कथा हो ?”
तब पुरुषोत्तमको जबाफ यस्तो रह्यो- “प्रिय पाठक, नीलो प्रेम साँगाको पुलिस स्कुलमा सुरु हुने कथा हो । पात्रको उमेरसँगै यो कथा काठमाडौँको इन्जिनियरिङ कलेज हुँदै देश-विदेश पुग्छ । एस.एल.सी. दिएर बसेका भाइ-बहिनीदेखि मास्टर्स सकेका दाइ-दिदीसम्म र प्रेम गरेर बिहे गर्न लागेका केटा-केटीदेखि बिहे भइसकेका युवा-युवतीसम्मले यसमा आफ्नो कथा भेट्नेछ्न् ।”

पुरुषोत्तम भन्छन्, किताबमा धेरै कुराहरू छन् । यो प्रेम कथा जरूर हो । तर, यो दोस्ती, पारिवारिक सम्बन्ध, र जीवनका कठिन मोडहरू पाइला चाल्ने सङ्घर्षको कथा पनि हो ।
अहिले युवा विदेश भासिने प्रवृतिमाथिको चर्चा तथा  ‘देश फर्किनु नै पर्छ’ भन्ने धारणामाथिको विश्लेषणसमेत उपन्यासमा संक्षिप्त रूपमा समावेश गरेको उनले बताए ।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ