सिवोल । डा शेष घलेले गराउने एकता महाधिवेशनलाई समर्थन गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ । आइतबार सम्पन्न अधिवेशनबाट अध्यक्षमा विपिन कुमार गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।
गुरुङको नेतृत्वमा नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा जित बहादुर कुँवर, उपाध्यक्षमा प्रशान्त राज बानियाँ, अवदेस कुमार चौरासिया र श्याम तिमल्सिना चयन भएका छन् । यसैगरी महासचिवमा पूर्ण बहादुर बुढा (अजय सोडारी) चयन भएको निर्वाचन समितिका संयोजक डा अग्नि राज कोइरालाले जानकारी दिए ।
यसैगरी सचिवमा नरेश शर्मा र टार्जन राई, कोषाध्यक्षमा यज्ञमान नायक, सहकोषाध्यक्षमा सुश्मा तामाङ चयन भएको उनले बताए ।
यसैगरी युवा संयोजक (पुरुष) अनन्त आचार्य, युवा संयोजक (महिला) रुक्मा बम, सदस्यहरूमा यम बहादुर खत्री, दीपेन्द्र रोकाया, प्रदीप तिमल्सिना, अजयकान्त कुशवाहा, संघर्ष लम्साल र खगेन्द्र जोशी चयन भएका छन् ।
यसअघि विशेष समारोहका बीच एकताको अधिवेशनको उद्घाटन सत्र चलेको थियो । सो अवसरमा बोल्दै पर्यटन राज्यमन्त्री अरुण कुमार चौधरीले राष्ट्र निर्माणमा एनआरएनएको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै नेपालमा लगानी गर्न अनुरोध गरे । यस्तै पर्यटन प्रवर्द्धन तथा अनेक सवालमा एनआरएनएको भूमिका महत्वपूर्ण रहेकाले नेपाल सरकारले एनआरएनए मिलेर अघि बढेको हेर्न चाहेको बताए ।
यसैगरी उच्चस्तरीय समितिका संयोजक शेष घलेले आफूले सर्वोच्चको परमादेशअनुसार एकताको महाधिवेशन गर्न लागेको उल्लेख गर्दै मे ३,४ र ५ को कोरियाबाट बढीभन्दा बढी सहभागिताको अपेक्षा गरेको बताए ।
यस्तै समितिका सदस्य विनोद कुँवरले परमादेशअनुसार एकताको महाधिवेशन हुने भन्दै कतिपयले भावनाको कुरा गरेर अलमल्याउन खोजेको बताए । कार्यक्रममा ४० भन्दा बढि संघ संस्थाका प्रतिनिधिहरूले सहभागिता जनाउँदै अधिवेशन सफलताको शुभकामना दिएका थिए ।
एकताको अधिवेशन भनिएपनि कार्यक्रममा बद्री केसी पक्षको एनआरएनए दक्षिण कोरियाले भने सहभागिता जनाएन । केन्द्रमै बद्री केसी पक्षले अक्टोबरमै नियमित महाधिवेशन गर्ने अडान राखिराखेकाले सोहीअनुसार दक्षिण कोरियामा केसी पक्ष सहभागी नभएको हो। केसी पक्षबाट दक्षिण कोरियामा बुद्धि गुरुङ का समुह ले भने आजकै दिन भलिवल कार्यक्रम रहेको जानकारी दिएका थिए ।











