हरिहर घिमिरे
बनेपा, काभ्रे — बनेपास्थित शीर मेमोरियल एडभेन्टिस्ट अस्पतालले उच्च प्रविधियुक्त १६० स्लाईस क्षमताको सिटी स्क्यान मेशिन जडान गरी सेवा सुरु गरेको छ। आधुनिक उपकरणको शुभारम्भ एक विशेष समारोहबीच सम्पन्न भएको हो, जसले स्थानीयबासीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न थप सहज बनाउने अपेक्षा गरिएको छ।
झन्डै ७ करोड ५० लाख रुपैयाँ बराबरको लागतमा खरिद गरिएको सो उपकरणमध्ये करिब ४ लाख ६० हजार अमेरिकी डलर मूल्यको मेशिन ‘ग्लोबल ग्रान्ट’ परियोजनामार्फत प्राप्त गरिएको हो। यस परियोजनामा रोटरी फाउन्डेशन, कुपन्डोल र काभ्रे रोटरी क्लबको सक्रिय सहयोग रहेको छ। बाँकी रकम जेनेरेटर तथा अन्य आवश्यक व्यवस्थापनमा खर्च गरिएको छ।
उक्त प्रविधि सञ्चालनका लागि अस्पतालका चिकित्सक तथा कर्मचारीहरूले स्वेच्छिक रूपमा एक महिनाको पारिश्रमिक सहयोग गरेका छन्। सन् २०२२ देखि थालिएको प्रयास अहिले आएर सफल बनेको हो।
उद्घाटन समारोहमा बागमती प्रदेशका सांसद कञ्चनचन्द्र बादे प्रमुख अतिथि रहेका थिए। उनले ग्रामीण तथा अर्धशहरी भेगमा आधुनिक स्वास्थ्य सेवा विस्तार हुन थालेकोमा खुसी व्यक्त गर्दै, प्रविधि पहुँचमा ल्याउनु नै सेवा विस्तारको महत्वपूर्ण आधार भएको बताए।
सो अवसरमा एडभेन्टिस्ट हेल्थ रक्किका प्रमुख कार्यकारी अधिकृत ब्रेट स्पेन्स, बनेपा नगर प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा, स्थानीय प्रशासनका प्रतिनिधि, रोटरीका पदाधिकारी लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
शीर अस्पतालले विगतमा पनि अल्ट्रासाउण्ड, ल्याप्रोस्कोपिक टावर, युरेटेरोनोस्कोप, सर्भर मेशिन जस्ता अत्यावश्यक उपकरणहरू भित्र्याउँदै आएको छ। अस्पतालका मेडिकल डाइरेक्टर डा. एन्जिला बस्नेतका अनुसार, यस्ता प्रविधिहरूले रोगको प्रारम्भिक पहिचान र प्रभावकारी उपचारमा महत्त्वपूर्ण भूमिका खेल्नेछन्।
स्थानीय सरकार, दातृ संस्था र जनसमुदायको सहकार्यमा सञ्चालित यो पहलले शीर मेमोरियल अस्पताललाई काभ्रेपलाञ्चोक जिल्लाको एक अग्रणी प्रविधिमैत्री स्वास्थ्य केन्द्रको रूपमा स्थापित गर्न योगदान पुर्याएको छ।











