खानीखोलामा साहित्यिक चेतना फैलाउँदै कविता प्रतियोगिता सम्पन्न

खानिखोला/ काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिकामा एक भव्य साहित्यिक कार्यक्रम तथा खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ। अविरल साहित्य समाजको आयोजनामा र गाउँपालिकाको आर्थिक सहयोगमा आइतबार गाउँपालिकाको सभा हलमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा राष्ट्रिय कवि मनु मन्जिल प्रमुख अतिथिका रूपमा सहभागी हुनु भयो। उहाँले खानीखोलालाई साहित्यिक क्षेत्रमा उदाहरणीय बनाउने कार्यमा सहयोग पुर्‍याएको भन्दै आयोजक संस्था र गाउँपालिका सरकारलाई धन्यवाद दिनुभयो। साथै, प्रतियोगिताबाट छानिएका उत्कृष्ट सिर्जनाहरूलाई आफ्नो स्तरबाट सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो।

गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ) ले प्रतिभाशाली स्रष्टाहरूलाई प्रोत्साहन गर्न र साहित्यमार्फत गाउँपालिकाको परिचय फैलाउन सधैं साथ रहने बताउनुभयो। उहाँले अविरल साहित्य समाजलाई सफल आयोजनाका लागि शुभकामना व्यक्त गर्नुभयो।

खुला कविता प्रतियोगितामा जम्मा १३ जना सहभागी भएका थिए। प्रतियोगितामा तोप बहादुर राण मगर प्रथम, लोक बहादुर थोकर दोस्रो, मन कुमारी थिङ तेस्रो तथा सरिता तिमल्सिना सान्त्वना विजेता बन्न सफल भए। उनीहरूलाई क्रमशः नगद रु १५,०००, रु १०,०००, रु ५,००० र रु २,००० पुरस्कारसहित मायाको चिनो प्रदान गरिएको थियो।

कार्यक्रम अविरल साहित्य समाजका अध्यक्ष टीकाराज थिङको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रशासकीय प्रमुख, विभिन्न वडाका अध्यक्ष, शिक्षक, शाखा प्रमुखहरू तथा मातृभूमि साहित्य समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित खवर

ताजा अपडेट

नेत्रवाण ट्रेन्डिङ