हरिहर घिमिरे
काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर–९ मा अवस्थित श्री डेडीथुम्का माध्यमिक विद्यालय लामो समयदेखि यस भेगकै एक अग्रणी शैक्षिक संस्थाका रूपमा स्थापित हुँदै आएको छ। वि.सं. २०३८ सालदेखि एसएलसी परीक्षा सञ्चालन गर्दै आएको यस विद्यालयले हजारौं दक्ष र योग्य नागरिक उत्पादन गर्दै आइरहेको छ। तीमध्ये कतिपय सरकारी उच्च पदमा कार्यरत छन् भने कतिपय समाज, स्वास्थ्य, शिक्षा, सञ्चार, विज्ञान, व्यवसाय, प्रविधि, कृषि लगायतका क्षेत्रमार्फत समाज परिवर्तनमा क्रियाशील छन्। यही विद्यालयमा शिक्षारत भएका तथा यहाँबाट उदीयमान भएका व्यक्तिहरू देश–विदेशमा फरक–फरक भूमिकामा योगदान दिइरहेका छन्।
त्यस्ता विविध पृष्ठभूमिमा रहेका पूर्वविद्यार्थीहरूलाई एकै छानामुनि ल्याई, उनीहरूबीचको सम्बन्ध सुदृढ गर्दै, आ–आफ्नो क्षेत्रको ज्ञान र सिप साझा गर्दै विद्यालय र नगरको समग्र उन्नयनमा कसरी हातेमालो गर्न सकिन्छ भन्ने उद्देश्यले ‘पूर्वविद्यार्थी सम्मेलन–२०८२’ को आयोजना गर्न लागिएको हो। यो सम्मेलन २०८२ सालको जेठ १५ गतेको दिन बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म डेडीथुम्कामा हुने तय गरिएको छ।

विद्यालयको इतिहासमा पूर्वविद्यार्थीहरूलाई समेटेर संस्था निर्माण गर्ने प्रयास यसअघि पनि भएको थियो। वि.सं. २०६२ मा ‘डेडीथुम्का मावि एल्मुनाई एसोसिएसन’ गठन गरिए पनि निरन्तर सञ्चालनमा रहन सकेन। यद्यपि, २०५२ सालको व्याचले २०५७ सालदेखि आफ्ना सहपाठीहरूसँग नियमित रूपमा भेटघाट कार्यक्रम सञ्चालन गर्दै आइरहेको अनुभवले भविष्यमा त्यस्ता कार्यक्रमलाई संस्थागत बनाउने बाटो देखायो। यही पृष्ठभूमिमा २०७४ सालमा ‘डेडीथुम्का फाउण्डेसन’ नामक सामाजिक संस्था स्थापना गरियो। सो फाउण्डेसनले शैक्षिक सामग्री वितरण, स्वास्थ्य, जनचेतना अभिवृद्धि, सांस्कृतिक जगेर्ना, सहपाठीको सुख–दुखमा साथ दिने लगायतका गतिविधि सञ्चालन गर्दै आइरहेको छ।
अब भने त्यो यात्रा थप व्यवस्थित बनाउँदै, विद्यालयका प्रारम्भिक व्याचदेखि हालसम्म एसएलसी वा एसईई परीक्षामा सहभागी भएका सम्पूर्ण पूर्वविद्यार्थीहरूलाई एकजुट गर्दै सम्मेलन आयोजना गरिन लागेको हो। सम्मेलनमा सहभागिताका लागि पूर्वदर्ता अनिवार्य गरिएको छ र सहभागीहरूले रू. ५०० तिर्नुपर्ने व्यवस्था मिलाइएको छ। सम्मेलनको तयारीका लागि मूल समारोह समिति गठन गरिनेछ, साथै आवश्यकता अनुसार विभिन्न उपसमितिहरू परिचालन गरिनेछन्। सम्मेलनमा विद्यालय शिक्षा, प्राविधिक शिक्षा, उच्च शिक्षा तथा जीवनपर्यन्त सिकाइसँग सम्बन्धित विषयमा कार्यपत्रहरू प्रस्तुत गरिनेछन्।
उक्त सम्मेलनको अर्को विशेष पक्ष भनेको विद्यालयमा विशिष्ट योगदान गरेका अग्रज शिक्षकहरू तथा समाजमा पहिचान बनाउन सफल पूर्वविद्यार्थीहरूलाई सम्मान गर्ने योजना पनि हो। यसले विद्यालय र विद्यार्थीबीचको आत्मीयता मात्र बढाउने छैन, भावी पुस्ताका लागि प्रेरणाको स्रोत पनि बन्नेछ।

डेडीथुम्का फाउण्डेसनको पहलमा आयोजना हुने यो सम्मेलनले भूतपूर्व विद्यार्थीहरूको ज्ञान, सिप र क्षमतालाई उपयोग गरी मण्डनदेउपुर नगरपालिका क्षेत्रको शैक्षिक तथा सामाजिक रूपान्तरणमा ठोस योगदान पुर्याउने अपेक्षा गरिएको छ। यस्ता कार्यक्रमहरू भविष्यमा पनि निरन्तर भइरहने र विद्यालयसँग सम्बन्धित समग्र समुदायलाई समेट्ने विश्वास गरिएको छ।
डेडीथुम्का माविको गौरवशाली इतिहासलाई नअसाधारण गौरवका साथ स्मरण गर्दै, अबको बाटो अझ जिम्मेवार र सामूहिक सहभागिताबाट अघि बढाउने तयारीमा पूर्वविद्यार्थीहरू जुटिरहेका छन्। सम्मेलन त्यसको एउटा महत्वपूर्ण मोड बन्नेछ।










