सन्तोष बजगाई
समाज परिवर्तनको प्रक्रियामा युवाहरूको भूमिका अत्यन्तै महत्वपूर्ण र निर्णायक हुने गर्दछ। किनकी युवावस्था ऊर्जाशीलता, नविन सोच, साहस र उत्साहले भरिएको जीवनको यस्तो चरण हो, जसले समाजलाई नयाँ दिशा दिनको लागि मद्दत गर्दछ। समाजमा परिवर्तन ल्याउनका लागि सोचमा परिवर्तन हुनु आवश्यक हुन्छ, र त्यो सोच परिवर्तनको मूल स्रोत प्रायः युवाहरूमा नै हुन्छन्।
आजको युगमा युवा पुस्ता केवल अध्ययन वा रोजगारीमा सीमित छैनन्, उनीहरू सामाजिक चेतनाको वाहेक पनि भएका छन्। जातीय भेदभाव, लैङ्गिक असमानता, भ्रष्टाचार, गरिबी र अशिक्षाजस्ता समस्याहरूको विरोधमा युवाहरूको सक्रियता उल्लेखनीय रहँदै आएको छ। सामाजिक सञ्जाल, डिजिटल प्रविधि र सञ्चार माध्यमहरूको प्रयोग गरेर उनीहरूले जनमत निर्माण गर्न र जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेलिरहेका हुन्छन् ।
युवाहरूले समाजमा परिवर्तन ल्याउनको लागि केवल विरोध वा आन्दोलनमै सीमित हुन जरुरी छैन; उनीहरूले सामाजिक सेवामा संलग्न भएर, कमजोर वर्गको पक्षमा काम गरेर, शिक्षा, स्वास्थ्य, वातावरण जस्ता क्षेत्रमा योगदान दिएर पनि समाज परिवर्तन ल्याउन सक्छन्। साना-ठूला अभियान चलाउने, समुदायमा सचेतना फैलाउने, स्थानीय स्तरमा नेतृत्व गर्ने जस्ता काममार्फत उनीहरूले समाजमा सकारात्मक प्रभाव पार्न सक्छन्।
युवाहरू केवल वर्तमानका होइन, भविष्यका कर्णधार पनि हुन्। त्यसैले उनीहरूको सोच, दृष्टिकोण र कार्यशैलीले समग्र समाजलाई कुन दिशा तर्फ लैजान्छ भन्ने कुरामा धेरै निर्भर हुने गर्छ। जब युवा पुस्ता शिक्षित, सचेत, जिम्मेवार र क्रियाशील हुन्छन्, तब समाजमा स्थायी र सकारात्मक परिवर्तन सम्भव हुन्छ।
यसर्थ, समाज परिवर्तनको आधार युवा शक्ति नै हो भन्नेमा कुनै शंका छैन। यदि उनीहरूलाई सही दिशा, अवसर र प्रेरणा दिइयो भने उनीहरूले न्याय, समानता, समावेशिता र समृद्धिको समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउन सक्छन्।
युवाहरूले परिवर्तनका लागि विविध तरिकाले भूमिका निर्वाह गर्छन्। उनीहरूको सोच र दृष्टिकोण समाजमा नवीन चेतना फैलाउने माध्यम बन्न सक्छ। परिवर्तनको प्रारम्भ मानिसको विचारबाट हुन्छ, र युवाहरू नयाँ विचार र सोचका स्रोत हुनेगर्दछन। उनीहरूले पुराना, रूढिवादी र विभेदपूर्ण अभ्यासहरूको विरोध गर्दै समाजमा न्याय, समानता र मानव अधिकारको पक्षमा आवाज उठाउन सक्छन्।
शिक्षा र प्रविधिको पहुँचले युवाहरूलाई अझ सक्षम बनाएको छ। शिक्षित युवा पुस्ताले समाजमा सुधार ल्याउने खालका गतिविधिमा सहभागिता जनाउँदै सचेत नागरिक निर्माणमा सघाउन सक्छन्। उनीहरूले विभिन्न अभियान, कार्यक्रम र जनचेतनामूलक गतिविधिहरू सञ्चालन गरेर समाजमा सकारात्मक सन्देश दिन सक्छन्।साथै, युवाहरूले सामुदायिक विकासमा योगदान गर्न सक्छन्—जस्तै स्वच्छता अभियान, वातावरण संरक्षण, शिक्षा प्रवर्द्धन, विपद् व्यवस्थापन, वा स्वास्थ्य सेवामा सहयोग पुर्याउनु। यस्तो सेवा कार्यले समाजमा सकारात्मक सोच र सहकार्यको भावना विकास गर्छ।
युवा पुस्ताले नेतृत्वदायी भूमिका पनि खेल्न सक्छन्। उनीहरू स्थानीय तथा राष्ट्रिय राजनीति, सामाजिक संस्था वा युवासंघ–संस्थाहरूको माध्यमबाट परिवर्तनको एजेन्डा अघि सार्न सक्छन्। उनीहरूको सक्रियता, साहस र दृढताले अन्यलाई पनि उत्प्रेरित गर्छ। यसरी हेर्दा, युवाहरू केवल शक्ति मात्र होइनन्, परिवर्तनका वाहक र भविष्य निर्माणकर्तासमेत हुन्। जब उनीहरूले आफ्नो जिम्मेवारीलाई बुझेर समाजका लागि योगदान दिन थाल्छन्, तब परिवर्तन सम्भव मात्रै होइन, अवश्यंभावी बन्छ।
निष्कर्ष:
समाज परिवर्तन कुनै एक दिनमा हुने प्रक्रिया होइन, तर जब युवाहरू सचेत, संगठित र क्रियाशील हुन्छन्, तब स्थायी र सकारात्मक परिवर्तन सम्भव हुन्छ। त्यसैले युवाहरूले आत्मविश्वास, अनुशासन र सामाजिक उत्तरदायित्वका साथ अगाडि बढ्न आवश्यक छ।










