— शिशिर भण्डारी
तिमीले मलाई
नदी भन्यौ—
अलि माथि ल्हेन्दे,
अलि तल
भोटेकोसी ।



तर मसँग
तिम्रा गाउँका नाम थिए,
बच्चाहरूको हाँसो थियो,
र
मेरो किनारमा सुकाइएका
तिम्रा सपनाहरू ।
मलाई याद छ—
तिमीले पहिलोपटक
मेरो किनारमा
घर बनाएको दिन ।
त्यतिबेला
मेरो बाटो फराकिलो थियो,
पहाडको छातीमा
जंगलको हरियो सास थियो,
आकाश खुला थियो,
र वर्षा
वर्षा जस्तै मात्र हुन्थ्यो ।
तिमीले भन्यौ—
“हामी छिमेकी हौँ ।”
मैले केही भनिनँ ।
मात्र बगिरहेँ ।
पछि
मेरो छातीमा
फलामका डण्डीहरू गाडिए ।
पुल बने ।
पुलमाथि सडक ।
सडकमाथि बजार ।
र बजारमाथि
अझ अग्ला सपनाहरू ।
मुनि
म भने
उहीँ बगिरहेँ ।
मान्छेको सपना रोक्नु
नदीको धर्म होइन ।
एक दिन
हातमा फिता लिएर
तिमीले मेरो किनार नाप्यौ ।
मेरो पुरानो बाटो
तिम्रो नक्सामा
“खाली जमिन” भयो ।
तिमीले बालुवा निकाल्यौ,
ढुंगा निकाल्यौ—
मानौँ
मेरो शरीरभित्रबाट
मेरो आफ्नै हड्डी निकाल्दै थियौ ।
जहाँ म
शताब्दीदेखि हिँडिरहेकी थिएँ,
त्यहाँ
पर्खाल उठ्यो ।
म चुप रहेँ ।
नदीहरू
धेरै कुरा देख्छन्,
तर
सधैँ बोल्दैनन् ।
समयसँगै
पहाडको अनुहार फेरियो ।
जंगलको ठाउँमा
डोजरका बकेट उम्रिए ।
चट्टानको देहमा
सडकका घाउहरू लागे ।
हिउँले
पहाडको पुरानो घर
बिर्सन थाल्यो ।
आकाशमा
अदृश्य आगो बलिरह्यो ।
बादलले
सायद
आफ्नो धैर्य गुमाए ।
र वर्षा—
वर्षा मात्र रहेन ।
कहिलेकाहीँ
एकै रातमा
वर्षौँको रिस लिएर
ओर्लिन थाली ।
तिमीले भन्यौ—
“प्राकृतिक प्रकोप ।”
र
फेरि
मलाई मात्र हेर्यौ ।
त्यो दिन
जब म उर्लिएँ,
तिमीले चिच्यायौ—
“भोटेकोसी आयो !”
हो,
म आएँ ।
तर
म कहाँबाट आएँ ?
म त
सधैँ यहीँ थिएँ ।
बरु
तिमी नै
मेरो पुरानो बाटोमा
आफ्नो नयाँ संसार लिएर
आएका थियौ ।
मलाई दोष दिनुअघि
एकपटक
आफ्नो घरको जग हेर ।
सायद
त्यहाँ
मेरो हराएको धारको
एउटा नक्सा
अझै बाँकी होला ।
हो,
त्यो दिन
मसँग धेरै पानी थियो ।
तर
त्यो पानीभित्र
पानी मात्र थिएन ।
त्यहाँ-
चिरिएका पहाड थिए,
नांगिएका जंगल थिए,
तातिएको आकाश थियो,
साँघुरिएको मेरो छाती थियो—
र
तिम्रा असावधानीहरू ।
जब म उर्लिएँ,
पहिलो आवाज
मेरो थिएन ।
मान्छेकै थियो—
गुहार मागिरहेको ।
कसैले
आफन्तको नाम बोलाइरहेको थियो ।
कसैको हातमा
आमाको फोटो थियो ।
कसैको हातमा
एउटा सानो जुत्ता ।
र
बगरको छेउमा
एउटा खेलौना—
आधा माटोमा गाडिएको ।
मैले त्यसलाई
टाढासम्म बोकेर ल्याएँ ।
तर विश्वास गर—
मैले
कसैलाई बगाउन
चाहेकी थिइनँ ।
नदीसँग
इच्छा हुँदैन ।
नदीसँग
स्मृति हुन्छ ।
त्यो दिनको स्मृति
अझै
मेरो पानीमा छ ।
त्यसपछि
धेरै नामहरू हराए ।
धेरै घरमा
बत्ती निभ्यो ।
धेरै आँगन
बगर भए ।
धेरै सपना
लेदोमुनि
जमिरहे ।
र
तिमीले सोध्यौ—
“तँ किन यति निर्दयी भइस् ?”
म चुप भएँ ।
तिम्रो प्रश्नको
एउटा उत्तर थिएन ।
मसँग
धेरै प्रश्नहरू थिए ।
जंगल कसले काट्यो ?
पहाड कसले चिर्यो ?
मेरो किनार
कसले मिच्यो ?
माथिल्लो भूभाग
कसले नांगो बनायो ?
र
आकाशलाई
धुवाँले भरिदिएर
वर्षालाई दोष
कसले दियो ?
तिमी चुप भयौ ।
मैले सोधेँ—
जलवायु परिवर्तन
कसको मौसम हो ? मान्छे ।
नदीहरू
हाँस्दैनन् ।
उनीहरू
स्मरण गर्छन् ।
त्यसैले
आज पनि
आफ्नै पानीसँग
एउटा प्रश्न सोध्छु—
नदी हुनु
सधैँ अपराध हो ?
तिमीले
पृथ्वीलाई तातो बनायौ ।
तातिएको आकाशले
असामान्य पानी खन्यायो ।
अनि
असामान्य बाढीलाई
मेरो स्वभाव भन्यौ ।
मलाई दोष दिन
सजिलो छ ।
नदीलाई
अदालतमा उभ्याउन
झन् सजिलो ।
तर
तिम्रो विकासको
ऐना कहाँ छ ?
त्यसमा हेर ।
सडक देखिनेछ—
सँगै
चिरिएको पहाड ।
सहर देखिनेछ—
सँगै
हराएको खोला ।
समृद्धि देखिनेछ—
सँगै
त्यसको मूल्यमा
बगेका गाउँ ।
र
त्यहीँ कतै
तिम्रो डोजरको दाँत,
पर्खालको छायाँ,
अनि
मेरो हराएको बाटोमाथि
तिम्रो हस्तक्षेेप ।
प्रकृतिको माफी
पानीजस्तै हुन्छ—
धेरै बेर थामिएपछि
एकैचोटि फुट्छ ।
म त
अझै बगिरहेकी छु ।
भोलि पनि बग्नेछु—
तिम्रा पुलमुनि,
तिम्रा घरछेउ,
तिम्रा स्मृतिबीच ।
कुनै दिन
फेरि बढ्न सक्छु ।
सायद
कुनै बिहान
तिम्रो निद्रा
ढकढक्याउन सक्छु ।
त्यस दिन
मलाई दोष दिनुअघि
मेरो किनारमा उभिएर
आफूलाई सोध्नु—
नदीले
आफ्नो बाटो बिर्सेकी हो,
कि
मान्छेले
नदीको बाटो ?
र
अर्को प्रश्न—
प्रकृतिसँग युद्ध गरेर
मान्छेले जितेको
कुन भविष्य हो ?
सायद त्यसपछि
म पनि
बिस्तारै बगूँला ।
तिमी पनि
अलि बिस्तारै बनाऊला ।
सडकभन्दा पहिले
पहाड सम्झौला ।
घरभन्दा पहिले
नदी सम्झौला ।
विकासभन्दा पहिले
जीवन सम्झौला ।
र
यदि कुनै बिहान
बगरमा
कुनै बच्चाको खेलौना
भेटिएन भने—
त्यो दिन
नदीलाई धन्यवाद नदिनू ।
आकाशतिर हेर ।
त्यहाँ
बादल मात्र छन्
कि
तिम्रै धुवाँ पनि ?
अनि
मेरो पानीमा
आफ्नो अनुहार हेर ।
सायद
त्यहाँ
तिमीले नदी देख्ने छैनौ ।
एउटा प्रश्न देख्नेछौ ।
किनकि—
भोटेकोसीले
घरहरू मात्र बगाएकी थिइन ।
उसले
हाम्रो विकासको नक्साबाट
एउटा प्रश्न निकालेर
बगरमा राखिदिएकी थिई ।
त्यो प्रश्न
अझै त्यहीँ छ—
नदीले बाटो बिर्सेकी हो कि
हामीले नदीको बाटो ?






