भोटेकोसीले छोडेको प्रश्न

— शिशिर भण्डारी

तिमीले मलाई
नदी भन्यौ—
अलि माथि ल्हेन्दे,
अलि तल
भोटेकोसी ।

तर मसँग
तिम्रा गाउँका नाम थिए,
बच्चाहरूको हाँसो थियो,

मेरो किनारमा सुकाइएका
तिम्रा सपनाहरू ।

मलाई याद छ—

तिमीले पहिलोपटक
मेरो किनारमा
घर बनाएको दिन ।

त्यतिबेला

मेरो बाटो फराकिलो थियो,
पहाडको छातीमा
जंगलको हरियो सास थियो,
आकाश खुला थियो,
र वर्षा
वर्षा जस्तै मात्र हुन्थ्यो ।

तिमीले भन्यौ—
“हामी छिमेकी हौँ ।”

मैले केही भनिनँ ।

मात्र बगिरहेँ ।

पछि
मेरो छातीमा
फलामका डण्डीहरू गाडिए ।

पुल बने ।
पुलमाथि सडक ।
सडकमाथि बजार ।
र बजारमाथि
अझ अग्ला सपनाहरू ।

मुनि
म भने
उहीँ बगिरहेँ ।

मान्छेको सपना रोक्नु
नदीको धर्म होइन ।

एक दिन
हातमा फिता लिएर
तिमीले मेरो किनार नाप्यौ ।

मेरो पुरानो बाटो
तिम्रो नक्सामा
“खाली जमिन” भयो ।

तिमीले बालुवा निकाल्यौ,
ढुंगा निकाल्यौ—
मानौँ
मेरो शरीरभित्रबाट
मेरो आफ्नै हड्डी निकाल्दै थियौ ।

जहाँ म
शताब्दीदेखि हिँडिरहेकी थिएँ,
त्यहाँ
पर्खाल उठ्यो ।

म चुप रहेँ ।

नदीहरू
धेरै कुरा देख्छन्,
तर
सधैँ बोल्दैनन् ।

समयसँगै
पहाडको अनुहार फेरियो ।

जंगलको ठाउँमा
डोजरका बकेट उम्रिए ।

चट्टानको देहमा
सडकका घाउहरू लागे ।

हिउँले
पहाडको पुरानो घर
बिर्सन थाल्यो ।

आकाशमा
अदृश्य आगो बलिरह्यो ।

बादलले
सायद
आफ्नो धैर्य गुमाए ।

र वर्षा—
वर्षा मात्र रहेन ।

कहिलेकाहीँ
एकै रातमा
वर्षौँको रिस लिएर
ओर्लिन थाली ।

तिमीले भन्यौ—
“प्राकृतिक प्रकोप ।”


फेरि
मलाई मात्र हेर्‍यौ ।

त्यो दिन
जब म उर्लिएँ,

तिमीले चिच्यायौ—
“भोटेकोसी आयो !”

हो,
म आएँ ।

तर
म कहाँबाट आएँ ?

म त
सधैँ यहीँ थिएँ ।

बरु
तिमी नै
मेरो पुरानो बाटोमा
आफ्नो नयाँ संसार लिएर
आएका थियौ ।

मलाई दोष दिनुअघि
एकपटक
आफ्नो घरको जग हेर ।

सायद
त्यहाँ
मेरो हराएको धारको
एउटा नक्सा
अझै बाँकी होला ।

हो,
त्यो दिन
मसँग धेरै पानी थियो ।

तर
त्यो पानीभित्र
पानी मात्र थिएन ।

त्यहाँ-

चिरिएका पहाड थिए,
नांगिएका जंगल थिए,
तातिएको आकाश थियो,
साँघुरिएको मेरो छाती थियो—

तिम्रा असावधानीहरू ।

जब म उर्लिएँ,
पहिलो आवाज
मेरो थिएन ।

मान्छेकै थियो—
गुहार मागिरहेको ।

कसैले
आफन्तको नाम बोलाइरहेको थियो ।

कसैको हातमा
आमाको फोटो थियो ।

कसैको हातमा
एउटा सानो जुत्ता ।


बगरको छेउमा
एउटा खेलौना—
आधा माटोमा गाडिएको ।

मैले त्यसलाई
टाढासम्म बोकेर ल्याएँ ।

तर विश्वास गर—

मैले
कसैलाई बगाउन
चाहेकी थिइनँ ।

नदीसँग
इच्छा हुँदैन ।

नदीसँग
स्मृति हुन्छ ।

त्यो दिनको स्मृति
अझै
मेरो पानीमा छ ।

त्यसपछि
धेरै नामहरू हराए ।

धेरै घरमा
बत्ती निभ्यो ।

धेरै आँगन
बगर भए ।

धेरै सपना
लेदोमुनि
जमिरहे ।


तिमीले सोध्यौ—
“तँ किन यति निर्दयी भइस् ?”

म चुप भएँ ।

तिम्रो प्रश्नको
एउटा उत्तर थिएन ।

मसँग
धेरै प्रश्नहरू थिए ।

जंगल कसले काट्यो ?
पहाड कसले चिर्‍यो ?
मेरो किनार
कसले मिच्यो ?
माथिल्लो भूभाग
कसले नांगो बनायो ?


आकाशलाई
धुवाँले भरिदिएर
वर्षालाई दोष
कसले दियो ?

तिमी चुप भयौ ।

मैले सोधेँ—
जलवायु परिवर्तन
कसको मौसम हो ? मान्छे ।

नदीहरू
हाँस्दैनन् ।

उनीहरू
स्मरण गर्छन् ।

त्यसैले

आज पनि
आफ्नै पानीसँग
एउटा प्रश्न सोध्छु—
नदी हुनु
सधैँ अपराध हो ?

तिमीले
पृथ्वीलाई तातो बनायौ ।

तातिएको आकाशले
असामान्य पानी खन्यायो ।

अनि
असामान्य बाढीलाई
मेरो स्वभाव भन्यौ ।

मलाई दोष दिन
सजिलो छ ।

नदीलाई
अदालतमा उभ्याउन
झन् सजिलो ।

तर
तिम्रो विकासको
ऐना कहाँ छ ?

त्यसमा हेर ।

सडक देखिनेछ—
सँगै
चिरिएको पहाड ।

सहर देखिनेछ—
सँगै
हराएको खोला ।

समृद्धि देखिनेछ—
सँगै
त्यसको मूल्यमा
बगेका गाउँ ।


त्यहीँ कतै
तिम्रो डोजरको दाँत,
पर्खालको छायाँ,
अनि
मेरो हराएको बाटोमाथि
तिम्रो हस्तक्षेेप ।

प्रकृतिको माफी
पानीजस्तै हुन्छ—
धेरै बेर थामिएपछि
एकैचोटि फुट्छ ।

म त
अझै बगिरहेकी छु ।

भोलि पनि बग्नेछु—

तिम्रा पुलमुनि,
तिम्रा घरछेउ,
तिम्रा स्मृतिबीच ।

कुनै दिन
फेरि बढ्न सक्छु ।

सायद
कुनै बिहान
तिम्रो निद्रा
ढकढक्याउन सक्छु ।

त्यस दिन

मलाई दोष दिनुअघि
मेरो किनारमा उभिएर
आफूलाई सोध्नु—
नदीले
आफ्नो बाटो बिर्सेकी हो,
कि
मान्छेले
नदीको बाटो ?


अर्को प्रश्न—
प्रकृतिसँग युद्ध गरेर
मान्छेले जितेको
कुन भविष्य हो ?

सायद त्यसपछि
म पनि
बिस्तारै बगूँला ।

तिमी पनि
अलि बिस्तारै बनाऊला ।

सडकभन्दा पहिले
पहाड सम्झौला ।

घरभन्दा पहिले
नदी सम्झौला ।

विकासभन्दा पहिले
जीवन सम्झौला ।


यदि कुनै बिहान
बगरमा
कुनै बच्चाको खेलौना
भेटिएन भने—
त्यो दिन
नदीलाई धन्यवाद नदिनू ।

आकाशतिर हेर ।

त्यहाँ
बादल मात्र छन्
कि
तिम्रै धुवाँ पनि ?

अनि
मेरो पानीमा
आफ्नो अनुहार हेर ।

सायद
त्यहाँ
तिमीले नदी देख्ने छैनौ ।

एउटा प्रश्न देख्नेछौ ।

किनकि—
भोटेकोसीले
घरहरू मात्र बगाएकी थिइन ।

उसले
हाम्रो विकासको नक्साबाट
एउटा प्रश्न निकालेर
बगरमा राखिदिएकी थिई ।

त्यो प्रश्न

अझै त्यहीँ छ—
नदीले बाटो बिर्सेकी हो कि
हामीले नदीको बाटो ?

सम्बन्धित खवर