हरिहर घिमिरे रसुवा । बुधबार बिहान रसुवाको नेपाल–चीन सीमा क्षेत्रमा आएको भीषण बाढीले कसैको जीवन लग्यो,कसैको आसा र भरोस लग्यो,कसैको हेर्दा हेर्दै काख रित्तियो,कसैको सपना लुटयो । भोटेकोशीमा आएको पानिको भेल भएन लास आसु बिनासमा परिणत भएको छ । क्षण भरमै रसुवा टिमुरेदेखि चितवन सम्म उजाड बस्ती नदीका किनारमा लासहरु देखिन थाले यो काल्पनिक कथा थिएन कारुणिक र चित्कारमा गुन्जियो । रसुवा , नुवाकोट र धादिङको त्रिशूली नदीको तटीय क्षेत्रसम्म ठूलो मानवीय र भौतिक क्षतिले “उडायो सपना सबै हुरीले ” भन्ने गितसगँ मेल खायो । रसुवाबाट सुरु भएको विपत्तिको प्रभाव नुवाकोट, धादिङ, गोरखा हुँदै चितवनसम्म पुगेको छ ।
अहिलेसम्मको जानकारी अनुसार रसुवागढीभन्दा करिब २० किलोमिटर उत्तरपूर्वतर्फ हिमपहिरो वा चट्टान–हिउँको ठूलो पहिरो गएर नदी थुनिएपछि बनेको अस्थायी ताल फुट्दा बाढी आएको हुन सक्ने अनुमान गरिएको छ । घटनाको वास्तविक कारणबारे भने पछि खुल्ने छ ।
बाढीले रसुवाको टिमुरे, रसुवागढी र स्याफ्रुबेँसी क्षेत्रमा सडक, पुल, बजार, सुरक्षा निकायका संरचना तथा जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको छ। त्यसपछि भोटेकोसी र त्रिशूली नदी हुँदै बाढी तलतिर फैलिँदा नुवाकोट, धादिङ, गोरखा र चितवनसम्म मानवीय क्षति भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बुधबार रातिसम्मको विवरणअनुसार विभिन्न क्षेत्रमा ९५ शव फेला परिसकेका थिए । तीमध्ये चितवनमा मात्रै ३२, धादिङमा १८, गोरखामा १५ र नुवाकोटमा ११ शव भेटिएका थिए। प्रधानमन्त्री कार्यालयले भने मृतक संख्या ९५ पुगेको जनाएको थियो ।
क्षतिको दायरा मानवीय क्षतिमै सीमित छैन । बिपद प्राधिकरणका अनुसार ३५ वटा मोटरेबल पुल, ४५ वटा झोलुङ्गे पुल र करिब ४० किलोमिटर कालोपत्रे सडक पूर्ण रूपमा क्षतिग्रस्त भएका छन भनेबाढीका कारण सयौँ मानिस सम्पर्कविहीन छन् ।
विशेषगरी चितवनमा त्रिशूली र नारायणी नदीमा बाढीले बगाएर ल्याएका शव भेटिन थालेपछि रसुवामा भएको घटनाको प्रभाव कति तलसम्म पुगेको छ भन्ने स्पष्ट भएको छ ।
घटनापछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारमा परिचालन भएका छन्। सडक र सञ्चार सम्पर्क अवरुद्ध भएका कारण कतिपय क्षेत्रमा स्थलमार्गबाट पुग्न कठिन भएपछि हेलिकोप्टरबाट समेत उद्धार भइरहेको छ । प्राधिकरणका अनुसार १९६ जनालाई उद्धार गरिएकोमा ११६ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो ।



यो विपत्ति सीमित प्राकृतिक घटना रहेन । हिमाली क्षेत्रमा भएको पहिरो वा हिमपहिरोबाट सुरु भएको बाढीले नदीको प्राकृतिक बहाव पछ्याउँदै सयौँ किलोमिटर तलसम्म मानवीय बस्ती र पूर्वाधारमा असर पु¥याएको छ ।
रसुवाको भोटेकोसीमा आएको बाढीले एउटा गम्भीर पाठ पनि दिएको छ—नदीको माथिल्लो तटीय क्षेत्रमा भएको प्राकृतिक घटना तलका जिल्लाका लागि पनि तत्काल जीवन–मरणको जोखिम बन्न सक्छ । त्यसैले पूर्वसूचना, नदीको बहावको निरन्तर निगरानी, जोखिमयुक्त बस्तीको पहिचान र तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रणाली अब कागजमा मात्र सीमित राख्न नहुने देखिएको छ ।
रसुवामा गर्जिएको भोटेकोशी चितवनसम्म पुग्दा पानी मात्रै बगेन—मानवीय जीवन, संरचना र जीवनको सपना बगे, सिन्दुर बग्यो बालकाको काख बग्यो, आमा बुबाको सन्तान बग्यो सार जिवन समेत बग्यो । यस्तो कारणीक दृष्य न कसैले देख्न नपरोस,भोग्न नपारेस,सुन्न नपरोस ।






