काभ्रेपलाञ्चोक । महिलालाइ बिकासको साझेदार बनाउने उद्देश्यसहित बेथानचोक गाउँपालिका–३ ले ‘उत्प्रेरणा नारी समूह’ गठन प्रक्रिया अघि बढाएको छ ।
महिलालाई विकासका कार्यक्रमका लाभग्राही मात्र होइन, समुदायको नेतृत्व र निर्णय प्रक्रियामा अगाडि बढाउन नारी समूह गठन गरिएको हो ।
वडा कार्यालयले चालु आर्थिक वर्ष २०८३/०८४ मा वडाभित्रका विभिन्न टोलका किशोरी तथा महिलालाई समेटेर समूह गठन गर्न लागेको छ । स्वास्थ्य, स्वच्छ वातावरण र सरसफाइसम्बन्धी क्षमता विकास गर्दै महिलाको सामाजिक सहभागिता बढाउने उद्देश्यले भेला आयोजना गरिएको वडा अध्यक्ष कुबेर ढकालले बताए ।
वडा अध्यक्ष ढकालले भदौ १५ देखि १८ गतेसम्म विभिन्न टोलमा हुने भेलामार्फत समूह गठन गरिनेछ। वडा कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार खोरथापे चौर, बाहिबिसे चौर, दुर्लुङखोला दलित भवन, लक्ष्मीनारायण मन्दिर, गोखालीगाउँ डेरी, लप्सीबोट मन्दिर,कुनेखर्क सामुदायिक भवन र बाल्दे सामुदायिक भवनलगायतका स्थानमा भेला तय गरिएको जानकारी दिए ।



वडा अध्यक्ष ढकालका अनुसार समूह गठनको उद्देश्य कागजमा समिति बनाउनेभन्दा पनि महिलालाई समुदायका साझा समस्या पहिचान, समाधान र सामाजिक अभियानमा सक्रिय बनाउनु हो । स्वास्थ्य, सरसफाइ र वातावरणजस्ता विषय घरपरिवारसँग मात्र सीमित नरही समुदायको विकाससँग प्रत्यक्ष जोडिएकाले महिलाको सक्रिय सहभागिता आवश्यक रहेको अध्यक्ष ढकाल ले भने ।
“महिला र किशोरीलाई आफ्नै समुदायका विषयमा बोल्न, समस्या पहिचान गर्न र समाधानका लागि नेतृत्व गर्न सक्ने वातावरण बनाउनु आवश्यक छ,” अध्यक्ष ढकालले बताए ।

स्थानीय तहमा महिला लक्षित कार्यक्रमको संख्या बढ्दै गए पनि त्यसको प्रभाव समूह गठन र भेला आयोजनामा मात्र सीमित नहोस् भन्ने चुनौती छ । समूहलाई नियमित रूपमा सक्रिय राख्दै स्थानीय समस्या समाधान, सचेतना अभियान र वडा तहको योजना निर्माणमा समेत जोड्न सके ‘उत्प्रेरणा नारी समूह’ महिला सशक्तीकरणको प्रभावकारी माध्यम बन्न सक्ने देखिन्छ ।
वडा कार्यालयले सम्बन्धित टोलका किशोरी तथा महिलालाई तोकिएको मिति, समय र स्थानमा उपस्थित भई भेलामा सहभागी हुन आग्रह समेत गरेको छ ।






